Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

सुन्तला पाक्ने बेलामा कीरो लागेपछि बाँसखर्कका कृषक चिन्तित

सुन्तला पाक्ने बेलामा कीरो लागेपछि बाँसखर्कका कृषक चिन्तित

  • पर्वत । सुन्तला पाकेर बजार पठाउन तयारी भएको समयमा कीरो परेपछि पर्वतका सुन्तला भण्डारका रूपमा चिनिएको जलजला गाउँपालिका–१ बाँसखर्कका किसान चिन्तामा छन् । माघको पहिलो सातादेखि बिक्रीका लागि बजार पठाउने तयारी भइरहेका बेला बोटमै कुहिएर सुन्तला झर्न थालेका हुन् । 

    onlinepatrika
    Arghakhachi

    उत्तर मोहडामा फैलिएको बाँसखर्क सबैभन्दा ढिलोसम्म बोटमै सुन्तला रहने ठाउँ हो । यहाँ माघ शुरु भएपछि मात्रै सुन्तला पाक्छ । यस पटक भने पाक्ने बेलामा पहेँलो हुँदै झर्न थालेपछि किसान वर्षभरिको आम्दानी गुम्ने चिन्तामा छन् । “बढी पहेँलो भएको गेडो छिट्टै झरेको छ”, अगुवा किसान जगतबहादुर खत्रीले भन्नुभयो, “कोट्याएर हेर्दा भित्र कीरैकीरो छन् ।”

    AGNI GROUP

    बारीभरि पहेँलै भएर झरेका सुन्तला सङ्कलन गरेर खाडलमा पुर्ने गरेको खत्रीले बताउनुभयो । उहाँले वर्षेनी रु ६ देखि आठ लाखसम्मका सुन्तला बोटबाटै बेच्नुहुन्छ । बर्षेनी रु पाँच लाखका सुन्तला बिक्री गर्ने चन्द्रकुमारी भण्डारीले पनि पाक्ने बेलामा देखिएको यस्तो समस्याले आम्दानी चौपट हुने चिन्ता लागेको सुनाउनुभयो । “धान फल्ने खेत मासेर सुन्तला लगाएका छौँ”, उहाँले भन्नुभयो, “सुन्तला उठाउँदै खाल्डोमा पुर्नु परेको छ ।” मल, काँटछाँट र बगैँचा व्यवस्थापनमा बर्षेनी लाखभन्दा बढी खर्च हुने भण्डारीले बताउनुभयो ।  लगानी मात्रै नभएर वर्षभर कमाई खाने बाटो पनि बन्द हुने अवस्था आएको बताउनुभयो । 

    बाँसखर्कमा वर्षेनी रु साढे तीन करोडसम्मको सुन्तला उत्पादन हुन्छ । सुन्तलाको व्यवस्थित बजारीकरण गर्न किसानकै अग्रसरतामा सुन्तला उत्पादन तथा बिक्री गर्न बजारमारे सुन्तला उत्पादन सहकारी स्थापना गरिएको छ । सहकारीले घरैबाट सुन्तला टिपेर काठमाडौँदेखि चितवनसम्मका बजार पु¥याउँदै आएको छ । सुन्तला बिक्रीबाटै आएको आम्दानीको केही प्रतिशत रकमले सहकारीको खर्च धानिएको थियो । “यसपालि बाक्लो फलेको देखेर खुशी थियौँ”, सहकारीका अध्यक्षसमेत रहनुभएका खत्रीले भन्नुभयो, “मङ्सिरदेखि झर्न थालेको हो । पाकेका सुन्तला झरेपछि आम्दानीको बाटो सुक्ने चिन्ता बढ्दै गएको छ ।”

    सुन्तला झरेपछि सहकारीको आम्दानीसमेत घट्ने उहाँले बताउनुभयो ।  किसानले सुन्तला बेचेबापत प्रतिकिलो रु पाँचका दरले सहकारीमा जम्मा गर्नुपर्ने व्यवस्था छ । बाँसखर्कसहित म्याग्दी र बागलुङका केही गाउँ समेटेर गत वर्षदेखि सुन्तला सुपरजोन कार्यक्रम लागू भएको छ । बाँसखर्कसहित म्याग्दीको बेनी नगरपालिका, अन्नपूर्ण, रघुगङ्गा, मालिका गाउँपालिका, बागलुङको बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकासहितका सात स्थानीय तहका ५२ वडा समेटेर जोन कार्यान्वयन भएको हो । जोनमा समेटिएको भए पनि सुन्तला झर्ने समस्या समाधान नभएको वडाध्यक्ष तुलसीराम शर्मा रेग्मीले गुनासो गर्नुभयो । 

    “जोनले केही माखो मारेन”, रेग्मीले भन्नुभयो, “पहिला ब्लक हुँदा सानातिना समस्या समाधानलाई पैसा आउँथ्यो । अहिले त्यै पनि हरायो । बारीभरि सुन्तला झरेर बिजोग भएको छ । जोनलाई धेरै भन्यौँ । तर सुनुवाइ भएन ।” पाक्ने बेलामा कीरो लागेर झर्ने समस्या समाधान गर्न तत्काल सम्भव नभएको सुन्तला सुपरजोनका प्रमुख सुधीर थापाले बताउनुभयो । मोदी गाउँपालिका–२ को देउपुरमा समेत गत वर्षदेखि देखिएको हाँगा कुहिने रोगको समस्या समाधान भएको छैन । रासस

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij