Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

 जयवागेश्वरी पुनर्निर्माणः साँखु र लुभुको माटो

 जयवागेश्वरी पुनर्निर्माणः साँखु र लुभुको माटो

  • काठमाडैं । भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिर पुनर्निर्माण गर्न साँखु र लुभुको माटो ल्याइने भएको छ । विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षतिग्रस्त मन्दिर पुनर्निर्माणका लागि भत्काउने क्रममा मन्दिरभित्र भैरवलगायत विभिन्न देवीदेवताका चित्र, तीन गजुरको मन्दिरलगायत संरचना भेटिएपछि पुरातत्वविद्, संस्कृतिविद्लगायत विज्ञको समिति गठन भएको थियो । समितिले माटोको जोडाइबाट मन्दिर पुनर्निर्माण गर्नुपर्ने सिफारिससहितको प्रतिवेदन दिएको थियो । माटोको जोडाइबाट मन्दिर पुनर्निर्माण गर्नुपर्ने भएपछि पशुपति क्षेत्र विकास कोषले उपयुक्त माटो छनोट गर्ने क्रममा साँखु र लुभुको माटो परीक्षण गर्दा उपयुक्त भेटिएको निर्देशक भरत मरासिनीले राससलाई जानकारी दिनुभयो । जोडाइका लागि माटोको टुङ्गो लागे पनि मन्दिरको तल नयाँ काठ हाल्न खोजी भइरहेकाले पुनर्निर्माण केही ढिलाइ भएको छ । तल बढी भार पर्ने भएकाले नयाँ काठ राख्न लागिएको हो । 

    onlinepatrika
    Arghakhachi

     सडकमा रहेको मन्दिर पुनर्निर्माणका लागि चुना सुर्कीको लागत अनुमानसहित कोषले २०७५ साल माघमा तुलसी निर्माण कम्पनीसँग दुई वर्षमा पुनर्निर्माण सक्ने गरी सम्झौता गरेको थियो । सम्झौताअनुसार मन्दिर पुनर्निर्माणका लागि भत्काउने क्रममा तीन गजुरसहितको भित्री मन्दिर, भैरवसहित विभिन्न देवीदेवताका भित्तेचित्रलगायत संरचना भेटिएपछि पुरातत्वविद्सहितको समूहले पुनः अध्ययन गरेको हो ।

    AGNI GROUP

     पुरातत्व विभागका महानिर्देशक एवं विज्ञ समितिका सदस्य दामोदर गौतम ऐतिहासिक, पुरातात्विक महत्वका मन्दिर पुरानै स्वरुपमा पहिले प्रयोग भएकै निर्माण सामग्री प्रयोग गरेर बनाउनुपर्ने कानूनी व्यवस्थाअनुसार कोषलाई सुझाव दिएको जानकारी दिनुभयो । माटो परीक्षण गरेर पहिलेकै जस्तो गुणस्तरीय माटोबाट मन्दिर बनाउनुपर्ने प्रतिवेदन दिएको उहाँले जानकारी दिनुभयो । माटोको जोडाइबाट पुनर्निर्माण गर्दा भित्र भेटिएका चित्र फेरि राख्न सकिने विज्ञहरुको भनाइ छ । पुनर्निर्माणमा विज्ञ समितिले आवश्यक सल्लाह सुझाव दिइरहने जनाइएको छ ।

     विज्ञ समितिको प्रतिवेदनअनुसार कोषले यसअघि माटोको जोडाइबाट बनाइएका मन्दिरको अध्ययन गरी साँखु र लुभुको माटो उपयुक्त ठह¥याएको हो । साँखुस्थित बज्रयोगिनी मन्दिरमा इँट्टाको बीचमा राखिएको माटोको परीक्षण भएको कोषका प्रशासकीय अधिकृत सीताराम रिसालले बताउनुभयो । इँटा जोड्न उपयुक्त गुणस्तरीय माटोको खोजी गर्ने क्रममा साँखु र लुभुको माटो सही प्रमाणित भएको कोषले जनाएको छ ।रु तीन करोड १४ लाखमा जयवागेश्वरी मन्दिर पुनर्निर्माण भइरहेको छ । विश्व सम्पदा सूचीमा सूचीकृतस्थल भएकाले प्राचीन स्मारक संरक्षण ऐनअनुसार यहाँ पुनर्निर्माणको काम हुनेछ । यसका लागि विभागबाट एकजना पुरातत्व अधिकृत जयवागेश्वरी खटाइएको छ । 

     भूकम्पको एक महिना पनि नबित्दै कोषले २०७२ साल जेठ ४ गते एड्भेन्चर टुर एन्ड ट्राभलका सञ्चालक कल्याण शर्मालाई पुनर्निर्माणको सैद्धान्तिक स्वीकृति दिएको थियो । शर्माले पुनर्निर्माणको काम शुरु गर्न नसकेपछि २०७४ सालमा सम्झौता रद्द गरियो । सम्झौता गरेका दाताले क्षतिग्रस्त मन्दिरको पुनर्निर्माण ३५ महिना बित्दा पनि नगरेपछि पशुपति कोषले सम्झौता रद्द गरेको हो ।  दाता शर्मा शुरुमा पुरातत्वले नक्सा र ढाँचा स्वीकृत गर्न समय लगाएको, स्वीकृत भएर पुनर्निर्माण शुरु गर्दा स्थानीयवासीले अवरोध गरेकाले आफू पुनर्निर्माणबाट पछि हट्न बाध्य भएको बताउनुहुुन्छ । जयवागेश्वरी माटोको जोडाइबाट बनाउँदा लागतमा कुनै फरक नपर्ने कोषले जनाएको छ । 

     भत्काउने क्रममा नयाँ रहस्य फेला परेपछि अध्ययन गर्न विज्ञ समूह बनाउँदा जयवागेश्वरी पुनर्निर्माण ढिलाइ भएको बताइएको छ । सती प्रथा रहुन्जेल राजा महाराजाको निधनमा सती जाने रानीहरुको गरगहना सबै जयवागेश्वरीलाई चढाइने गरिन्थ्यो भन्ने भनाइ स्थानीयवासीबीच चर्चित छ ।  चढाइएको गरगहनालगायत सम्पत्तिको कुनै अभिलेख नरहेको पशुपति क्षेत्रका सम्पदाका बारेमा शोध गर्नुभएका कोषका पूर्वसदस्यसचिव एवं संस्कृतिविद् डा गोविन्द टन्डन बताउनुहुन्छ । 

     पशुपतिका ४७ सम्पदा पुनर्निर्माण

     पशुपति क्षेत्रमा रहेका ५१८ स्मारकमध्ये ९० वटामा भूकम्पले क्षति पु¥याएको थियो । हालसम्म १८ सत्तल र २९ मन्दिर गरी ४७ वटा  सम्पदा पुनर्निर्माण सम्पन्न भइसकेका छन् । पशुपति क्षेत्रका ११ सम्पदाको कार्य चालू रहेको कोषले जनाएको छ । विश्वरुप मन्दिर, गौरीघाटलगायत सातवटा सम्पदा खरीद प्रक्रियामा रहेका छन् ।  पच्चीस वटा सम्पदाको काम शुरु गर्न बाँकी रहेको पनि निर्देशक मरासिनीले जानकारी दिनुभयो । साढे पाँच वर्षअघिको भूकम्पले देशभरका ९२० सम्पदामा क्षति पुगको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । यसमध्ये हालसम्म ४६५ अर्थात् ५०।५ प्रतिशत पुनर्निर्माण सम्पन्न भएको छ । हाल २७२ सम्पदाको पुनर्निर्माण जारी छ ।
     
     जयवागेश्वरीको ऐतिहासिक पृष्ठभूमि

     जयवागेश्वरीको निर्माण कलिगत संवत् ३२३२ मा शुरु भएर ४७ वर्षपछि ३२७४ मा सम्पन्न भएको थियो । विसं १९९० को भूकम्पले क्षति पुगेको मन्दिर त्यसबेला जीर्णोद्धार गरिएको थियो ।न्दिरको कलेबर १२÷१२ वर्षमा फेर्ने गरिएको छ । कलेबर फेर्दा जगवागेश्वरी, गणेश र भैरवको माटाको नयाँ मूर्ति बनाइन्छ । जयवागेश्वरीमा टाउको काटिनुअघिको गणेशको मूर्ति रहेको छ । यसैले यहाँको गणेशको मूर्तिमा सूँढ नभएको स्थानीयवासी सन्देश मुनिकारले बताउनुभयो । 

     जयवागेश्वरीलाई महासरस्वती, महाकाली र महालक्ष्मीका रुपमा मानिए पनि विद्याकी देवीका रुपमा बढी पुज्ने गरिएको छ । तन्त्र साधना गर्नेले अन्तिममा जयवागेश्वरीमै आएर पूजा गर्ने परम्परा छ । मन्दिरसँगै सुन्धारा पनि स्थापना भएकामा हाल यसको अस्तित्व लोप हुने अवस्थामा पुगेको छ । जयवागेश्वरीको ठीक अघि तलेजु भवानीको मन्दिर स्थापना गरिएको छ । जयवागेश्वरी उपत्यकाको पुरानो राजधानी मानिन्छ । स्थानीयवासी मुनिकार ‘गोल’ भनिने जयवागेश्वरी उपत्यकाकै पहिलो बस्ती भएको बताउनुहुन्छ । यो बस्तीमा नौथरी जात, नौ पोखरी, नौ पाटी, नौ ढोकालगायत संरचना रहेकामा यो पनि लोपोन्मुखको अवस्थामा पुगेको छ ।

     गोपाल र किराँत शासनकालको राजधानी जयवागेश्वरी थियो । लिच्छविकालको राजधानी यहीँबाट शुरु भएर पछि हाँडीगाउँमा सरेको हो । मल्लकालमा हाँडीगाउँबाट हनुमानढोकामा राजधानी सारिएको इतिहासविद्हरुको भनाइ छ । ऐतिहासिक एवं सांस्कृतिकरुपले महत्वपूर्ण क्षेत्र भए पनि जयवागेश्वरीका सम्पदाको संरक्षण हुन नसकेको स्थानीयवासीको गुनासो छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij