Jun 16 2026 | २०८३, असार २ गते
डोटी । सुदूरपश्चिम प्रदेशमा आज पुस १५ गते ‘पुसे पन्ध्र’ पर्व मनाइँदैछ । डोटीसहित यहाँका बझाङ, बाजुरा, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर, कैलाली, डडेल्धुरा जिल्लामा ‘पुसे पन्ध्र’ पर्व धुमधामका साथ मनाइन्छ ।
हरेक वर्ष पुस १५ गते यहाँका स्थानीय तहका गाउँका सबै मानिस एकै ठाउँमा जम्मा भई रातभर जाग्राम बस्ने चलन रहेको छ । यस क्रममा १५ हात लामो मुढाको आगो ताप्दै दन्त्यकथा भन्दै रात काट्ने गरिन्छ । पुस १५ का दिन विशेषगरी तरुल, सक्खरखण्ड, फर्सी, पिँडालुलगायतका माटोमुनि उम्रिने चिजलाई उसिनेर खाने चलन छ । माटोमुनि उम्रिने पदार्थ खाँदा जाडो भाग्ने र शरीरमा स्फूर्ति, तागत बढ्ने भएकाले खाने गरेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका स्थानीयवासी रामबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “माटोमुनि उम्रिने चिज खाँदा जाडो भाग्ने र शरीरमा स्फूर्ति आउने भएकाले आजका दिन प्रायः सबैले खाने चलन छ, आजको दिन यहाँ रमाइलो गरिन्छ ।”
आजको दिन यहाँका नागरिकले वन जङ्गलमा काम नगर्ने र बञ्चरो, हँसिया, घाँसपात, दाउरा बान्ने डोरी आदिको पनि पूजा गर्ने चलन रहेको अर्का स्थानीयवासी शिवबहादुर कामीले जानकारी दिनुभयो । उहाँका अनुसार आजको दिन यहाँका प्रायः सबै नागरिक घरमा लगाएको र जङ्गलमा पाइने तरुल खनेर उसिनेर खान्छन् । आज तरुल खानैपर्ने मान्यताअनुरूप यहाँका शहरबजार क्षेत्रमा तरुल किन्नेको घुइँचो लाग्ने गदर्छ । पूर्वजका पालाका पौराणिक कथाहरूलाई एक पिँढीबाट अर्को पिँढीमा सम्झिँदै अनि सम्झाउँदै र सुन्दै वा सुनाउँदै यो पर्व मनाउँदै आइएको छ ।
पूर्वजका पालादेखि चल्दै आएका चाडपर्व र यी चाडपर्व मनाउने तिथिमितिलाई मनन गर्दा मान्छेले फुर्सदको समयमा मनोरञ्जन लिने र दिने सोचका साथ तय गरेको पाइएको डोटी उद्योग वाणिज्य सङ्घका पूर्व केन्द्रीय सदस्य तथा दिपायलका स्थानीयवासी डम्बर भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “आजको दिन यहाँका नागरिकले राजभर जाग्राम बसी पुराना किंवदन्ती सुन्ने र सुनाउने चलन छ, जसलाई सुदूरपश्चिममा ‘बातै’ भन्ने चलन छ ।”
आजको दिन यहाँका नागरिक कसैले पनि काम नगर्ने तथा आफ्नो फुर्सद निकाली खानेकुरो कन्दमुख लाने तथा रमाइलो गर्ने चलन छ । गहुँ छरिसकेपछि गाउँघरतिर पूर्ण फुर्सदिलो महिनाका रूपमा हेर्न सकिन्छ पुस महिनालाई । पुस पन्ध्रको लामो रातलाई कतै कतै कुनिकेउली खाने पर्वका रूपमा पनि लिनइने गरिन्छ । सुदूरपश्चिममा मनाइने पुसे पन्ध्रलाई स्वतन्त्रताको प्रतीकका रूपमा लिने चलन छ ।
घरघरबाट विभिन्न परिकार बनाउन सामग्री लगेर एक ठाउँमा जम्मा भई पकाउने र बाँडीचुँडी खाने चलनलाई यहाँ पुसे पन्ध्र भन्ने गरिन्छ । रातभर विभिन्न पौराणिक र लोककथा, गाउँखाने कथा सुन्ने, सुनाउने साथै गीत–सङ्गीतको समेत भरपुर आनन्द लिने पर्वका रुपमा हेर्न सकिने भएकाले आजको दिन यहाँ निकै महत्वका साथ हेरिने गरिएको दिपायल सिलगढी नगरपालिका–५ का टीकासिंह भण्डारीले जानकारी दिनुभयो ।
पछिल्ला दिनमा यो पर्व मात्र औपचारिकता निभाउने ढङ्गले मनाइँदै आएको स्थानीयवासी बताउँछन् । कोरोना कहरका कारण यो वर्ष पहिले जस्तो गरी मनाउन गाह्रो हुने कतिपय स्थानीयवासीको भनाइ छ । यहाँका गाउँघरमा आजको दिन शालिन र भद्र ढङ्गले दिनभरि देउडा खेल्ने तथा महिला पुरुषले सवाल जवाफसमेत फर्काउने गर्दछन् । आजको दिन परापूर्वकालदेखि नै महिला पुरुषसँगै देउडा खेल खेल्ने चलन कायमै रहेको सायल गाउँपालिकाका स्थानीयवासी शिद्धराज जोशीले जानकारी दिनुभयो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij