Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

नेपाली युवाहरुको नौलो प्रयासः कोरियाली प्रविधिमा व्यावसायिक प्याज खेती

नेपाली युवाहरुको नौलो प्रयासः कोरियाली प्रविधिमा व्यावसायिक प्याज खेती

  • झापा । पहिलोपटक उत्साही तीन युवाले झापा गाउँपालिका–६ मा व्यावसायिक प्याज खेती शुरु गरेका छन् । फिदिम नगरपालिका–११ का सुमन न्यौपाने, बुद्धशान्ति गाउँपालिका–३ का केशव भूर्तेल र स्थानीय सोमनाथ प्रसार्इं मिलेर प्याज खेती शुरु गरेका हुन् । 

    onlinepatrika
    Arghakhachi

    ती युवाले १० वर्षका लागि २२ बिघा जग्गा भाडामा लिएर कोरियाली प्रविधिद्वारा व्यावसायिक प्याज खेती शुरु गरेका छन् । “झापालाई प्याजमा आत्मनिर्भर हाम्रो लक्ष्य छ”, केशव भूर्तेल भन्नुहुन्छ, “यहाँको मागलाई धान्न आफ्नै खेतबारीमा प्याज फलाउन सकिन्छ भन्ने किसानलाई सन्देश दिन पनि हामीले प्याजको खेती शुरु गरेका हौँ ।” उनीहरुमध्ये न्यौपाने कोरियाबाट फर्केका युवा हुनुहुन्छ । कोरियामा सिकेको सीपलाई आफ्नै देशमा प्रयोग गरेर जिल्लासँगै नेपाललाई प्याजमा आत्मनिर्भर बनाउने उद्देश्य रहेको भूर्तेलले बताउनुभयो । 

    AGNI GROUP

    उहाँहरुले शुरुमा २२ बिघाबाट शुरु गरे पनि भविष्यमा ५० बिघामा खेतीको विस्तार गर्ने बताउनुभयो । यतिबेला उहाँहरुले प्याजको बेर्ना रोप्न शुरु गर्नुभएको छ । प्रतिबिघा १० हजार केजी प्याज फलाउने उहाँहरुको योजना छ । 

    यसअघि सप्तरी, बारा, सिराहा, रौतहट, कैलाली, रूपन्देही, धनुषा, सर्लाही, खोटाङमा प्याजको व्यावसायिक  खेती गरिँदै आएको छ भने झापामा यो पहिलो हो । स्थानीयवासीलाई रोजगारी मिल्ने र बजारको पनि समस्या नहुँदा प्याज खेतीबाट मनग्य आम्दानी हुने स्थानीयवासी सोमनाथ प्रसाईँले बताउनुभयो । उहाँले प्याजको बेर्ना लगाउन शुरु गरिएको हुँदा यतिबेला ५० जनालाई रोजगारी दिएको बताउनुभयो । 

    उहाँहरुले मल्सिङ प्रविधिबाट प्याज खेती शुरु गरेको जानकारी दिनुभयो । हाल ५० जनालाई रोजगारी प्रदान गरे पनि बेर्ना रोपिसकेपछि  १० देखि १५ जना स्थानीयवासीलाई दैनिक रोजगारी दिइने उहाँको भनाइ छ । “हामी बिचलित हुँदैनौं”, उहाँले भन्नुभयो,“अरु खेतीभन्दा यसको खेतीमा लगानी पनि धेरै हुने र मेहनत पनि धेरै भए पनि बजारको भने समस्या हुँदैन ।” उहाँका अनुसार प्याज उत्पादन भइसक्दा प्रतिकेजी रु १५ देखि २० सम्म खर्च हुने अनुमान छ । 

    कृषि ज्ञान केन्द्र झापाका कृषिविद् शालिकराम भट्टराईले प्याज खेतीका लागि बलौटे माटो चाहिने हुँदा झापा त्यसका लागि उपयुक्त रहेको बताउनुभयो । प्याज रोपेको चार महिनामा बजार पठाउन मिल्ने उहाँको भनाइ छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij