Jun 16 2026 | २०८३, असार २ गते
चितवन । रत्ननगर नगरपालिकाले भूमिहीन दलित तथा सुकुम्वासीलाई लालपूर्जा वितरण प्रक्रिया शुरुआत गरेको छ । नगरस्तरीय भूमीसम्बन्धी समस्या समाधान सहजीकरण समितिको बैंठकले लालपूर्जा वितरणको लागि औपचारिक रुपमा काम शुरु गर्ने निर्णय गरेको हो ।
बैठकले सुकुम्वासीको बसोबास रहेको र नगरभित्रको सार्वजनिक जग्गाको लगत सङ्कलन गर्नका लागि सूचना प्रकाशन तथा सुकुम्वासी समुदायबाट निवेदन माग गर्ने निर्णय भएको नगरप्रमुख नारायण वनले जानकारी दिनुभयो । एक हस्ताभित्र सुकुम्वासीबाट लालपूर्जाको लागि फारम भर्ने काम शुरु गर्ने गरी तयारी गरिएको उहाँले बताउनुभयो । फारम भर्ने काम एक महिनाभित्र सकेर अन्य कामलाई अगाडि बढाउने योजना रहेको प्रमुख वनको भनाइ छ । यही बीचमा जग्गा वितरण गर्ने आधार निर्माण गर्ने तथा नापी कार्यालय भरतपुरसँग प्राविधिक तथा अन्य आवश्यक सामग्री माग गर्ने बैठकले निर्णय गरेको छ । तत्कालै तथ्याङ्क सङ्कलकलाई अभिमुखीकण कार्यक्रमको आयोजना गरी कार्यक्षेत्रमा पठाउने तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवरले जानकारी दिनुभयो ।
बैठकमा उपप्रमुख बिमला दुवाडी, नेकपाका नगरअध्यक्ष कुलप्रसाद लामिछाने, नेपाली काँग्रेसका नगर सभापति रुपनराज घिमिरे, कार्यपालिका सदस्य सरस्वती लामा, रीता विक, गीता दाहाल, लुमन्ती आवासका लागि सहयोग समूहका कार्यक्षेत्र संयोजक सिंह लामाको सहभागिता रहेको थियो । रत्ननगरमा एक हजार ५०० बढी सुकुम्वासीको घरधुरी रहेको तथ्याङ्क छ । रासस
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij