Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

नमोबुद्धमा बढ्दै आन्तरिक पर्यटकको भीड

नमोबुद्धमा बढ्दै आन्तरिक पर्यटकको भीड

  • पूर्णप्रसाद मिश्र नमोबुद्ध, काभ्रेपलाञ्चोक । वरिपरि हिमाल देखिने अग्लो भागमा रहेको आकर्षक धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक स्थल नमोबुद्धमा यतिबेला धार्मिक पर्यटकको भीड लाग्न थालेको छ । गत वर्ष चैतमा कोरोना भाइरसको सङ्क्रमण देखिन थालेपछि बन्द रहेको नमोबुद्धको मुख्य चैत्य क्षेत्र भने अझै नखुलेको कारण दैनिक सयौँ पर्यटक मुख्य सांस्कृतिक स्थलको अवलोकन नगरी फर्कन बाध्य भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौँको कालिमाटीबाट शनिबार नमोबुद्धको दर्शन गर्न पुग्नुभएका सुरेश मोक्तान मुख्य चैत्य क्षेत्र बन्द भएका कारण बाहिरैबाट वरिपरि परिक्रमा गरेर मात्र फर्कन बाध्य भएको बताउनुहुन्छ । “राजधानीमा स्वयम्भूनाथ, पशुपतिनाथ र बौद्धनाथजस्ता महत्वपूर्ण पर्यटकीयस्थल खुल्न थालेकाले नमोबुद्ध पनि खुल्यो होला भनी शनिबार दर्शन पनि गरौँ, एक दिन भए पनि शहरी क्षेत्रबाट बाहिरको प्राकृतिक सौन्दर्यमा रमाउन आएको थिएँ, नमोबुद्धको मुख्य चैत्य क्षेत्रमा घुम्ने धोको भने पूरा हुन सकेन”, उहाँले भन्नुभयो । 

    AGNI GROUP


    आन्तरिक एवं बाह्य धार्मिक पर्यटकको भीड लाग्ने नमोबुद्धको मुख्य चैत्य क्षेत्र बन्द गरिँदा यस वरपरका व्यापार व्यवसाय सुकेको स्थानीयवासीको गुनासो छ । केही वर्षदेखि खाजा घरका साथै फूल प्रसाद र बुद्धचित्तको मालाको पसल चलाउँदै आउनुभएकी स्थानीयवासी कुलुङ लामा कोरोनाको सङ्क्रमण फैलिने भयले गरिएको बन्दाबन्दीपछि गत चैतदेखि नै नमोबुद्ध बन्द गरिएसँगै व्यापार व्यवसाय बन्द भएको बताउनुहुन्छ ।

     चैतपछि दशैँसम्म अत्यन्त न्यून सङ्ख्यामा मात्र पर्यटक नमोबुद्ध आएका थिए । दशैँपछि आन्तरिक पर्यटक आउन थाले पनि मुख्य चैत्य क्षेत्र भने खुला नगरिँदा चहलपहल अझै बढ्न सकेको छैन । घुम्नका लागि मुख्य गुम्बा नै बन्द भएपछि कतिपय आन्तरिक पर्यटक धुलिखेलबाट नै फर्किने गरेका छन् । अन्यत्र जस्तै भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर दर्शनार्थी एवं पर्यटकका लागि गुम्बा खुला गरिनुपर्ने स्थानीयवासीको माग छ ।
      
    करिब छ हजार वर्ष पहिले सिङ्घत छेन्पो नाम गरेका राजाले नमोबुद्ध क्षेत्रमा राज्य गर्थे । उहाँका तीन छोरा थिए । ड्राआ छेन्पो, लाहा छेन्पो, सेमचेन छेन्पो नामका तीन छोरामध्ये जेठा र माइला राजकाज एवं युद्धकलामा निपूर्ण थिए । कान्छा छोरा सुशील, दयालु र सहनशील स्वभावका थिए । कान्छा छोरा सेमचेन छेन्पोले पाँच डमरुसहितको बघिनी भोको र अचेत रुपमा सुतिरहेको अवस्थामा देखे । दयालु राजकुमारले आफ्नो तिघ्राको मासु टुक्राटुक्रा पारे । छाती खोपेर रगत निकाली बघिनीलाई खुवाएको इतिहास रहेको नमोबुद्धका वृद्धा कुन्साङ लामाले बताउनुभयो । बाघ र डमरुप्रति दयाभाव देखाउने तिनै राजकुमार नै पछि गएर गौतमबुद्ध बनेको बौद्ध धर्मावलम्बीको धार्मिक विश्वास छ ।
    राजकुमारको मासु खाएपछि बघिनीका पाँचवटा बच्चा उनका शिष्य भए । तिनै राजकुमारको नामबाट यस स्थानको नाम नमोबुद्ध रहन गएको किम्बदन्ती छ । भगवान् गौतमबुद्धको पूर्वजन्मसँग जोडिएको यो स्थल छ हजार वर्ष अघिदेखि नै धार्मिक स्थलका रुपमा प्रसिद्ध छ । राज्य पुनःसंरचनासँगै ७५३ स्थानीय तह गठन हुँदा यो नगरपालिकाको नाम पनि नमोबुद्ध नै राखिएको छ ।

    नगरपालिकाले नमोबुद्ध क्षेत्र विकास समिति गठन गरी यस क्षेत्रको विकासका लागि काम गर्दै आएको छ । समिति गठन भएपछि यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने पहल भइरहेको अध्यक्ष ऋतुबज्र लामाले बताउनुभयो । नगरपालिका गठन हुनुअघि नै गुठी संस्थानले नमोबुद्ध घ्याङ गुठी व्यवस्थापन समिति बनाई काम गर्दै आएको छ । व्यवस्थापन समितिले यहाँका धार्मिक एवं सांस्कृतिक स्थलमा नित्य पूजालगायत व्यवस्था मिलाउँदै आएको छ ।

    नमोबुद्धको धार्मिक क्षेत्र नगरपालिकाको वडा नं १ र ११ मा पर्छ । बन्द रहेको नमोबुद्ध क्षेत्रका मुख्य गुम्बा वडा नं १ मै छ । वडा नं १ का अध्यक्ष कर्मा लामा नमोबुद्धलाई धार्मिक, सांस्कृतिक एवं पर्यटकीय रुपमा विकास गर्न स्थानीय सरकारका तर्फबाट काम भइरहेको बताउनुहुन्छ । आन्तरिक एवं बाह्य पर्यटकले घुम्न मन पराउने मुख्य गुम्बा क्षेत्रमा ४०० भन्दा बढी लामा आवासीय रुपमा बसेर अध्ययन गरिरहेकाले स्वास्थ्य सुरक्षाका लागि बन्द गरिएको उहाँले सुनाउनुभयो । 

    केही दिनयता कोरोना महामारीको अवस्थालाई पनि बेवास्ता गर्दै थुप्रै आन्तरिक पर्यटक यहाँ घुम्न आउन थालेका छन् । यसवर्ष ग्रगोरियन पात्रो अनुसारको नयाँ वर्षका अवसरमा पनि नमोबुद्धलगायत विभिन्न पर्यटकीयस्थल भ्रमण गर्न आउनेहरुको भीड धुलिखेलका अधिकांश होटल एवं रिसोर्टमा देख्न सकिन्छ । दश महिनापछि पहिलोपटक यति धेरै आन्तरिक पर्यटक धुलिखेल आएको ट्विन किचेन गेष्ट हाउस एण्ड रेष्टुरेन्टका सञ्चालक रमेश दाहालले जानकारी दिनुभयो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij