Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई लिएर गरेको टिप्पणीप्रति आपत्ति जनाएको छ ।
एमाले सचिव तथा विदेश विभाग प्रमुख रघुवीर महासेठले आज एक विज्ञप्ति जारी गरी भारतीय अखबार ‘द हिन्दू’मा गत बिहीबार प्रकाशित प्रचण्डको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले ‘चिनियाँ कार्ड’ खेलेको भन्ने अभिव्यक्ति आधारहीन, गैरजिम्मेवार रहेको भएको भन्दै आपत्ति जनाउनुभएको हो ।
उहाँले दाहालका टिप्पणी तथ्यविहीनमात्र नभई नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठालाई कमजोर बनाउने खालका रहेको उल्लेख गर्नुभयो । “सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘चीन कार्ड खेलेको’ आरोप लगाउँदै चीन भ्रमणलाई ‘अपरिपक्वताको प्रमाण’ भनेर व्याख्या गर्नु आधारहीन, गैरजिम्मेवार र नेपालको राष्ट्रिय हित तथा परराष्ट्र नीतिको मर्मविपरीत छ”, विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा यस प्रकारका टिप्पणीहरूले कूटनीतिक मर्यादाको गम्भीर उल्लङ्घन गर्नुका साथै नेपालको सार्वभौमसत्ता र राष्ट्रिय गरिमालाई अपमानित समेत गर्ने जनाइएको छ । “प्रधानमन्त्री ओलीको चीन भ्रमण नेपालको स्वतन्त्र परराष्ट्र नीतिको स्पष्ट अभिव्यक्ति हो, जसलाई ‘कार्ड कूटनीति’ भनेर चित्रण गर्नु पूर्ण रूपमा तथ्यहीन र भ्रामक छ । दाहालका यस्ता टिप्पणीहरूले नेपालको आर्थिक विकास र समृद्धिका लागि अत्यन्त महत्त्वपूर्ण साझेदार मित्रराष्ट्र भारत र चीनसँग नेपालको सन्तुलित सम्बन्धमा खलल पुर्याउने जोखिम निम्त्याउँछन् । यस्ता गैरजिम्मेवार अभिव्यक्तिले नेपालले दुवै राष्ट्रसँग निर्माण गरेको सुदृढ, सन्तुलित र सम्मानजनक सम्बन्धलाई कमजोर पार्दछन्”, विज्ञप्तिमा भनिएको छ ।
प्रधानमन्त्री ओलीले ऐतिहासिक परिपक्वता र नेतृत्व दक्षता देखाउँदै नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीतिमा व्यावहारिकता, संयम र सन्तुलनको उदाहरण प्रस्तुत गर्नुभएको र उहाँको नीतिले भारत तथा चीन दुवैसँगको पारस्परिक सम्मान र सहकार्यलाई थप प्रगाढ बनाएको विज्ञप्तिमा बताइएको छ । “परराष्ट्र नीति कुनै राजनीतिक स्वार्थको विषय बन्नु हुँदैन । यसले विवेक, गम्भीरता र राष्ट्रिय जिम्मेवारीको माग गर्दछ । नेपालको परराष्ट्र नीति असंलग्नता, शान्तिपूर्ण सहअस्तित्व र संयुक्त राष्ट्रसङ्घको चार्टरका सिद्धान्तहरूमा आधारित छ”, विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा नेकपा (एमाले) भारत र चीन दुवैसँग नेपालको सन्तुलित सम्बन्ध कायम गर्ने प्रतिबद्धता दोहोर्याउँदै दाहाललाई आफ्ना अभिव्यक्ति फिर्ता लिन र नेपाली जनतासँग माफी माग्नसमेत एमालेले आग्रह गरेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij