Jun 18 2026 | २०८३, असार ४ गते
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले प्राचीन स्मारक संरक्षण ऐन र शैव दर्शनविपरीत हुने गरी पशुपतिनाथको शिवलिंगमा सुनको जलहरी राख्ने भएको छ । प्राचीन स्मारक संरक्षण ऐनले सम्पदा स्थलमा कुनै पनि नयाँ संरचना राख्न निषेध गरेको छ ।
यसअघि कोषले शिवलिंगमा सुनको जलहरी राख्न लाग्दा मन्दिरकै भण्डारी, स्थानीय बासिन्दा र सम्पदा संरक्षणकर्मीको विरोधले काम रोकिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि सुनको जलहरी राख्ने प्रक्रिया अघि बढेको हो । ‘शैव दर्शनअनुसार पशुपतिनाथलाई जलहरी लगाइदिन मिल्दैन,’ पशुपतिनाथका पालोवाला भण्डारी विजयराज भण्डारीले भने, ‘हामी यस्तो कामको विरोध गर्छौं ।’
कोष सञ्चालक परिषद्को बुधबार बसेको बैठकले सुनको जलहरी राख्ने काम अघि बढाउने निर्णय गरेको कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए । ‘यही शिवरात्रिसम्ममा राखिसक्ने गरी काम अघि बढेको छ,’ उनले भने । प्रधानमन्त्री ओलीले सोमबार पशुपतिमा दर्शन र संकल्प पूजा गर्ने क्रममा काम अघि बढाउन निर्देशन दिनुका साथै सरकारले तत्काल ३० करोड रुपैयाँ उपलब्ध गराउने घोषणासमेत गरेका थिए ।
कोषले तीन वर्षअघि नै १ सय ४१ किलो सुनको जलहरी राख्ने गरी प्रक्रिया अगाडि बढाएको थियो । त्यस क्रममा पटकपटक सार्वजनिक सूचनासमेत निकालिएको थियो । तर विरोधपछि प्रक्रिया अघि बढेको थिएन । ‘जलहरी राख्ने मुद्दा लगभग मृत अवस्थामा थियो । अहिले प्रधानमन्त्री ओलीले ब्युँताएका छन्,’ कोषका पूर्वकोषाध्यक्ष तथा वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले भने, ‘हामी यो काम हुन दिँदैनौं ।’
तीन वर्षअघि भारतीय मूलका एक अरबी व्यापारीले पशुपतिको दर्शन गर्ने क्रममा सुनको जलहरी राख्न ८० किलो सुन दिने वचन दिएका थिए । त्यही बेलादेखि कोषले जलहरी राख्ने प्रक्रिया अघि बढाएको थियो । भण्डारीले समेत जलहरी राख्ने प्रक्रियाको विरोध गरेका थिए । कान्तिपुर दैनिकमा दामोदर न्यौपानेले खबर लेखेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij