
Aug 08 2025 | २०८२, साउन २३ गते
काठमाडौँ । नेपालले एएफसी यू-२० महिला एसियन कप छनौट अन्तर्गत साउदी अरेबियालाई पराजित गरेको छ । नेपालले साउदी अरेबियालाई १-० गोल अन्तरले पराजित गरेको हो ।
नेपालको जितमा खेलको ९०औं मिनेटमा सुक्रिया मियाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि नेपालको समुह ए मा ४ अंक भएको छ ।
यस खेलमा नेपालले खेलको ३७औं मिनेटमा पाएको पेनाल्टीलाई मीना देउवाले गोल गर्न नसकेपछि साउदी अरेबियाविरुद्ध शुरुवाती अग्रता लिने अवसर गुमाएको थियो ।यस अघि नेपालले भुटानसँग १-१ गोलको बराबरी खेलेको थियो ।
त्यस्तै साउदी अरबले आफ्नो पहिलो खेलमा उत्तर कोरियासँग १५-० गोल अन्तरले पराजित भएको थियो । समुह ए को आजै भुटान र उत्तर कोरियाबीच खेल हुदैछ । प्रतियोगिता भुटानमा अगस्ट १० सम्म हुने तालिका रहेको छ ।
नेपालले यो खेलपछि अगस्ट १० मा उत्तर कोरियासँग खेल्ने तालिका रहेको छ ।आठ समुहको शिर्ष स्थानमा रहने देश एएफसी यू-२० महिला एसियन कपका लागि छनौट हुने छन भने हरेक समुहको दोस्रो स्थानमा रहेका शिर्ष तीन देश पनि एशिया कपका लागि छनौट हुने छन् ।
१२ देशले भाग लिने एएफसी यू-२० महिला एसियन कपमा आयोजकको रुपमा थाइल्याण्ड छनौट भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij