Jun 15 2026 | २०८३, असार १ गते
ललितपुर । चापागाउँबाट हराएको सरकारी गाडी चोर्ने व्यक्तिको मानसिक सन्तुलन ठीक नभएको प्रहरीको निष्कर्ष छ ।
जेठ २० गते बुधबार गोदावरी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत चढ्ने सरकारी गाडी हराएको थियो । बा.२ झ १८७८ नम्बरको उक्त टाटा सुमो नगरपालिकाकै वडा नं. १२ दूरीखेलमा राति पार्किङ गर्ने गरिन्थ्यो । तर, २० गते राति त्यहीँबाट गाडी हरायो ।
प्रहरीले खोजी गर्ने क्रममा मंगलबार गोदावरी नगरपालिका-१४, ठैबमा लुकाएर राखेको अवस्थामा गाडी फेला पर्यो । गाडी चोर्ने व्यक्ति थिए, त्यहीँका ३३ वर्षीय श्यामभाइ परियार ।
बाडेगाउँ घर भएका उनी ठैबस्थित दिदीको घरमा बस्दै आएका थिए । एक समय सवारी चालकका रुपमा काम गरेका उनी मदिरा र लागुऔषधको कुलतका कारण पेशा र परिवार दुबैबाट अलग भएको प्रहरीले जनाएको छ । प्रहरी परिसर, ललितपुरका एक अधिकृतले जनाएअनुसार उनलाई चोरिएको गाडी सरकारी हो भन्ने पनि थाहा थिएन ।
यसअघि पनि चालक नभएका गाडी त्यत्तिकै चलाइदिने र उस्तै परे लुकाएर राख्ने गरेका थिए । २० गते पनि उनले त्यसै गरे । रातको समयमा दूरीखेलमा टाटा सुमो देखेपछि उनले विभिन्न उपाय लगाएर ढोका खोले, सानोको कनेक्सन टुटाउन जानेका थिए । त्यसपछि स्टार्ट गरेर लगे ।
पेशवर चोर भए उनले चोर्नुको उद्देश्यअनुसार कतै लगिसकेका हुन्थे । तर, चोरेर एक ठाउँमा लुकाएर मात्रै राखेको प्रहरीले जनाएको छ । ‘किन त्यस्तो गरेको ?’ भनी प्रहरीले सोध्दा ‘त्यत्तिकै’ भन्ने जवाफ दिएका छन् । उनको मानसिक अस्पतालमा स्वास्थ्य परीक्षण गरी अदालतमा पेश गरिने भएको छ । कानुनले मानसिक सन्तुलन गुमाएका व्यक्तिको हकमा उसले गरेका कसुर मिनाहाको व्यवस्था गरेको छ ।
प्रहरीका अनुसार घटना भएको समयमा आफ्नो कामको प्रकृति र परिणाम थाहा नपाउने गरी कसैको मानसिक स्थिति ठीक नभएमा उसलाई फौजदारी कानुनले कसुरदार मान्दैन र सजाय पनि हुँदैन । त्यस्ता व्यक्तिलाई कारवाहीको सट्टा उपचार गर्नुपर्ने कानुनी मान्यता छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij