Jun 15 2026 | २०८३, असार १ गते
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालीको आत्मनिर्णयको अधिकार फेरि जोखिममा परेको दाबी गरे । संसद् पुनस्र्थापनापछि एमाले र माओवादीबीचको एकतालाई लिएर आएको सर्वोच्चको फैसला र त्यसपछिका राजनीतिक घटनाक्रमलाई लिएर प्रचण्डले नेपालको राजनीति विदेशबाट प्रभावित भएको संकेत गरेका हुन् । उनले इशारा भारततर्फ थियो । नेपालीको आत्मनिर्णयको अधिकार फेरि एकपटक जोखिममा छ । शान्ति सम्झौतामा हस्ताक्षर गर्दै गर्दा, संविधानसभाबाट लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्दै गर्दा, संविधान घोषणा गर्दै गर्दा, कम्युनिस्ट पार्टीको एकताको प्रस्ताव लिएर गठबन्धन गर्दै गर्दा र चुनावको नेतृत्व गर्दै गर्दा आत्मगौरव हुन्थ्यो ।
हामीले कसैको दबाब, हस्तक्षेप, डर, धाक–धम्कीमा होइन, आफैँले निर्णय गरेका छौँ भन्ने हुन्थ्यो । आफैँले निर्णय गर्न सक्नु र परिणाम पनि निकाल्नु राष्ट्रिय गौरवको विषय हो,’ धुलिखेलमा बुधबार आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘तर, अहिले हामी फेरि निरीह हुन थालेको हो कि, नेपाली फेरि नराम्रोसँग हेपिन थालेको हो कि, तिमीहरूको निर्णयको अधिकार छैन, निरीह होऊ र निरीह नै रहिराख भन्न खोजिएको हो कि, तिमीहरूले बढी नै गर्यौ भने राम्रो हुँदैन भनेर धम्की पो आउन थालेको हो कि, हामी निर्णय गरिदिन्छौँ तिमीहरू आदेशपालक मात्रै होऊ भन्न खोजिएको हो कि भन्न खोजेजस्तो लाग्छ ।
आफू नेतृत्वमा रहेकाले पीडाबोध पनि भएको र अझै नेपाली राजनीतिमा खतराको कालोबादल कायमै रहेको उनको भनाइ थियो । म नेतृत्वमा भएकाले अलि बढी छटपटी र पीडाबोध भएको छ । तर, यसको मतलब सबै सिद्धियो, बर्बाद भयो भन्न खोजेको बिल्कुलै होइन ।
संसद् विघटन संविधानलाई कागजको खोस्टो बनाएर च्यात्ने दुस्साहस थियो । पहिलोपटक संविधानमा सार्वभौम भएका नेपाली जनताको सार्वभौम अधिकारको अपहरण थियो । यो पहिले–पहिलेजस्तो मध्यावधि मात्रै गर्ने भन्ने होइन । हामीले त्यही भन्यौँ, नेपाली जनताले साथ दियो । हामी सफल भयौँ ।
तर, अहिले पनि खतराको कालोबादल आकाशमा मडारिइराखेकै छ,’ प्रचण्डको भनाइ छ, ‘नेपाली जनता आफ्नो चनाखोपनलाई, राजनीतिक चेतनालाई दह्रो बनाउँदै एकताबद्ध भएनन् भने खतरा हुन पनि सक्छ । हामी नेतृत्व तहका पार्टीहरूको बीचमा लगातार छलफलमा छौँ ।
नेपालीले आफ्नोबारेमा निर्णय गर्न सक्ने हो कि होइन भन्ने प्रश्न नेपालीका सामु टड्कारो भएर उभिएको छ । अन्ततः सर्वोच्चले सरकारको त्यो विघटनको घोषणालाई खारेज गर्यो र संसद् पुनस्र्थापना भयो । त्यहाँसम्म त हामी नेपाली जनताले फेरि एउटा ब्याटल जितेकै हो, तर अहिले पनि ढुक्क हुने स्थिति छैन । त्यही अदालतको अर्को निर्णय फेरि त्यसको ठीक उल्टो छ प्रचण्डले भने । यो खबर आजको नयाँपत्रिकामा छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij