Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौं । नेपालका उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले आगामी आवको बजेट तुलनात्मक रुपमा सन्तुलित रहेको प्रतिक्रिया दिएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले रासससँग कुरा गर्दै नेपाल सरकारले आज प्रस्तुत गरेको बजेट तुलनात्मक रुपमा सन्तुलित नै रहेको प्रतिक्रिया दिए ।
खासमा देश महामारीमा रहेकाले स्वास्थ्योपचार र स्वास्थ्य पूर्वाधारमा बजेटको प्राथमिकता भएको र अरु पनि निजी क्षेत्रले अघि सारेका धेरै कुरा सम्बोधन गर्न खोजिएको उनले बताए । ढकालले भने, “यो विषय परिस्थितिमा निजी क्षेत्र निकै समस्यामा रहेकाले यस क्षेत्रले सरकारसँग राखेका कतिपय माग बजेटमा सम्बोधनको प्रयास भएको छ, तिनको कार्यान्वयन पक्ष अबका दिनमा बलियो हुनुपर्छ ।”
आन्तरिक पर्यटन प्रवद्र्धनका लागि दश दिन बिदा दिइने, विदेशी पर्यटकलाई एक महिनासम्मका लागि प्रवेशाज्ञा निःशुल्क गर्ने, आयात प्रातिस्थापनका कार्यक्रमलाई बढावा दिने, निर्यातलाई जोड दिने तथा कोभिड –१९ का कारण प्रभावित निजी क्षेत्रलाई सहयोगका कार्यक्रम ल्याइने प्रतिबद्धता सरकारले अघि सारेकाले बजेट सकारात्मक रुपमा नै लिनुपर्ने उनले बताए ।
उनले निजी क्षेत्रका कतिपय सुझावलाई सम्बोधन नै गरिएको र कोभिड प्रभावित क्षेत्रलाई पनि सहयोगका कार्यक्रम ल्याइने भनिएकाले यी सबै पक्षको सही कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij