Jun 15 2026 | २०८३, असार १ गते
काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिमा पूर्वमन्त्री इन्द्र बानियाँले उम्मेदवारी घोषणा गर्ने भएका छन् ।
बुधबार काठमाडौंमा पार्टीका केन्द्रीय सदस्यहरू, सांसदहरु, मन्त्रीहरु, जिल्ला सभापतिहरुको उपस्थितिमा नेता बानियाँले उम्मेदवारी घोषणा गर्न लागेका हुन् ।
कांग्रेस बाग्मती संसदीय दलका नेतासमेत रहेका बानियाँ मकवानपुर कांग्रेसका सभापति पनि हुन् । बानियाँले पार्टी सभापति शेरबहादुर देउवाको पक्षबाट सभापतिमा उम्मेदवारी घोषणा गर्न लागेका हुन् । कांग्रेसको बाग्मती प्रदेश सभापतिमा संस्थपन पक्षबाटै नेता मोहनबहादुर बस्नेतले पनि उम्मेदवारी दिने तयारी गरेका छन् । नेता कृष्णप्रसाद सिटौला पक्षबाट भीमसेनदास प्रधानले यसअघि नै प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।
संस्थापन इतर समूह भने सातै प्रदेशमा सभापतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा छलफलमा जुटेको छ । महामन्त्री डा.शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा संस्थापनइतरका नेताहरू छलफलमा जुटेका हुन्। बैठकमा सातै प्रदेशका साथै केन्द्रीय महाधिवेशनमा साझा उम्मेदवार तय गर्नेबारे छलफल भइरहेको बुझिएको छ।
बैठकमा महामन्त्री कोइरालाका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंह, डा.रामशरण महत, अर्जुननरसिंह केसीलगायतका नेता सहभागी छन्। इतर समूहबाट बाग्मती प्रदेश सभापतिका आकांक्षीमा जगदीश्वरनरसिंह केसी, मधु आचार्य, रामनाथ अधिकारी, रमेश धमला, राजुराज जोशी छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij