Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौँ । विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेकी छन् ।
उनले बिहीबार एक विज्ञप्तिमार्फत दर्शनाले पौष ८ गतेबाट अर्को निर्णय नलिएसम्म स्वतन्त्र नागरिकको भूमिकामा रहने स्पष्ट गरेकी हुन् ।
उनले भनिन्, ‘म आफूले लिएको सम्पूर्ण जिम्मेवारी र हरेक पदबाट साधारण सदस्य समेत नरहने गरी विवेकशील साझा पार्टीसँगको संलग्नताबाट आफूलाई स्वतन्त्र पार्दछु । पुस ८ गतेबाट अन्य कुनै राजनीतिक निर्णय नलिएसम्म एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीतिक रुपमा सक्रिय रहनेछु ।’
उनले संघीय गणतान्त्रिक नेपालमा वैकल्पिक राजनीतिको खोल ओडेर नेतृत्वले पार्टीमा फोहोर गरिरहेको आरोप लगाएकी छन् । पार्टीभित्रको फोहोर सफा गर्ने प्रयास गर्दै आएपनि त्यसलाई सफा गर्न नसकिने देखिएको उनको भनाइ छ ।
‘म राजनीतिमा सके सफा गर्छु नसके फोहोर गर्दिनँ भनेर प्रवेश गरेकी व्यक्ति हुँ । अहिले म संलग्न पार्टीले संघीय गणतान्त्रिक नेपालमा वैकल्पिक राजनीतिको खोल ओढेर अत्यधिक फोहोर गरिरहेको छ । जुन मैले सफा गर्ने कोशिश गरेँ तर पूर्णरुपले सफा गर्न असमर्थ रहेँ’, उनले विज्ञप्तिमा भनेकी छन्, ‘तसर्थ म यही संगठनमा बसेर नेपाली राजनीतिमा थप फोहोर बढाउन सक्दिनँ ।’
उनले आफ्नो वक्तव्यमा विवेकशील साझा पार्टीभन्दा माथि देश हुने पनि बताएकी छन् । उनले पार्टीको जग असली हालेको भएपनि तला थप्ने क्रममा कमसल बन्न पुगेको टिप्पणी पनि गरेकी छन् । पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संवैधानिक राजतन्त्रको वकालत गर्ने गरी ‘विचारभन्दा माथि देश’को एजेण्डा पार्टीमा लागु गराएपछि साझा विवेकशीलमा विवाद देखिएको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij