Jun 11 2026 | २०८३, जेठ २८ गते

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर २ दुवाकोट मोडमा रहेको ज्योति प्लाइ कार्पेट कारखानामा आगलागी भएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीका अनुसार गए राति आगलागी हुँदा कारखानामा रहेका दुई जना घाइते भएका छन्।
भक्तपुर, काठमाडौं, ललितपुर र काभ्रेका सात वटा दमकल, चार वटा पानी ट्यांकर र स्थानीयको सहयोगमा आइतबार बिहान ४ बजे आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आगो निभाउने क्रममा रामेछाप लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ६ घर भई हाल दुवाकोट बस्ने २३ वर्षीय बुद्ध नारायण श्रेष्ठ सामान्य घाइते छन्।
त्यस्तै भारतको बंगाल घर भई सोही ठाउँमा काम गर्ने २९ वर्षीय मनु उर्वा गम्भीर घाइते छन्।
उनलाई ईवामुरा अस्पतालमा लगिएको थियो। त्यहाँबाट थप उपचारको लागि कीर्तिपुर अस्पतालमा लगिएको छ। डिएसपी कार्कीका अनुसार प्रारम्भिक अनुसन्धानबाट करिब एक करोड ८० लाख बराबरको क्षति भएको हो।
घटनास्थलमा प्रहरी वृत थिमि भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको टोलीले अनुसन्धान गरिरहेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij