Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । त्रिपुरेश्वरस्थित उद्योग परिसरमा आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले छड्के अनुगमन गरेका छन् ।
मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेसहित परिसर पुगेका मन्त्री भण्डारीले उद्योग विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय, विशेष आर्थिक क्षेत्र प्राधिकरण, गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंलगायतका कार्यालयका प्रमुख तथा कर्मचारी र सेवाग्राहीसँग भेट तथा कुराकानी गरेका थिए ।
सो क्रममा मन्त्री भण्डारीले सेवाग्राहीको प्रतिक्रिया पनि लिएका थिए । सेवाग्राहीले उक्त कार्यालयहरुबाट हुने सेवा प्रवाहका विषयमा उनी समक्ष गुनासा सुनाउनुका साथै सकारात्मक कामका विषयमा पनि जानकारी गराएका थिए ।
अनुगमनका क्रममा उद्योग विभागका महानिर्देशक यज्ञ कोइराला, कम्पनी रजिष्ट्रार दीपक पहाडी, विशेष आर्थिक क्षेत्र प्राधिकरणका प्रमुख तुलसी मरासनी, गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख राकेशकुमार झालगायत कर्मचारीलाई मन्त्री भण्डारीले सेवाग्राहीलाई झन्झटरहित ढंगबाट छिटोछरितो सेवा प्रवाह गर्न निर्देशन दिए ।
सो क्रममा मन्त्री भण्डारीले उद्योग परिसरभित्रका भौतिक संरचनाको समेत अनुगमन गरेका छन् । जीर्ण अवस्थामा रहेका भौतिक पूर्वाधारको मर्मत सम्भार गरेर पुनः प्रयोग गर्न सकिने संरचना प्रयोगमा ल्याउन निर्देशन दिए । साथै उनले सार्क हस्तकला केन्द्र स्थापना गर्न भवन व्यवस्थापनका लागिसमेत अनुगमन गरे ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij