
May 20 2025 | २०८२, जेठ ६ गते
काठमाडौं । काठमाडौँ उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने सफा रहने छ ।
आज बिहान यहाँको न्यूनतम तापक्रम चार डिग्री सेल्सियस रेकर्ड गरिएको तथा अहिले त्यो पाँच डिग्री सेल्सियस रहेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो । आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने छ ।
जल तथा मौसम विज्ञान विभागको नियमित मौसम बुलेटिनअनुसार अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ ।
विभागका अनुसार आज दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ भने राति कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने छ ।
प्रातः कालमा तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु तथा केही स्थानमा कुहिरो लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन,यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने जनाउँदै विभागलेसोही अनुरुप आफ्ना गतिविधि सञ्चालन गर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij