Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । उमाकुण्ड गाउँपालिका–३ कुभुकास्तलीकी वडा सदस्य शर्मिला नेपाली लगायतका दलित महिला माथि जातीय विभेद भएको घटनाको मिलापत्र गरेको भन्दै जिल्लाका तीन राजनीतिक दलका दलित सङ्गठनहरूले आपत्ति जनाएका छन् ।
गत फागुन २४ सो गाउँपालिकाको वडा नं ३ कुभुकास्थलीस्थित चिर्मालु गुम्बामा आयोजित कार्यक्रममा लामा गुरुलाई स्वागत गर्न पुगेका वडा सदस्य शर्मिला नेपालीसहित दलित महिलाहरूलाई स्थानीय छोक्पा शेर्पाले जातको आधारमा विभेद गरी गरी छुट्टै बस्न र खान बाध्य पारेको भन्दै स्थानीय मेलमिलाप केन्द्रमा परेको उजुरीमा मिलापत्र गराएको भन्दै ती राजनीतिक दलका भातृ सङ्गठनहरूले विरोध जनाएका हुन् ।
वडा सदस्य नेपालीसहित अन्य ४ जना महिलाहरूले फागुन २५ गते आफूहरू माथि विभेद भएको भन्दै कारबाहीको माग गरी वडा कार्यालयमा निवेदन दिएका थिए । वडा कार्यालयले मेलमिलाप केन्द्रमा पठाएको सो घटामा फागुन २६ गते दुवै पक्षलाई बोलाएर छलफल गराई मिलापत्र गराएको थियो ।
सोही घटनालाई लिएर बिहीबार नेपाली कांग्रेसको भातृ संगठन नेपाल दलित संघ रामेछापका सभापति बलबहादुर दमाई, नेकपा एमालेको नेपाल उत्पीडित जातीय मुक्ति समाज रामेछापका उपाध्यक्ष कुलबहादुर रोका र नेकपा माओवादी केन्द्रको नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका अध्यक्ष सिताराम मुङ्गरातीले संयुक्त विज्ञप्ति जारी गरेर गैरकानुनी रूपले मिलापत्र गराएको भन्दै आपत्ति जनाएका छन् । जातीय विभेद जस्तो सरकारवादी मुद्दामा मिलापत्र गराएको घटनाले न्यायिक प्रक्रियामाथि नै गम्भीर प्रश्न उठाएको ती संगठनहरुको भनाइ छ ।
संविधानले जातीय भेदभाव तथा छुवाछुतलाई दण्डनीय अपराध मानेको र सरकारवादी फौजदारी मुद्दामा मिलापत्र गर्न नपाइने स्पष्ट कानुनी प्रावधान हुँदाहुँदै पनि जातीय विभेदको घटनालाई कानुनी कारबाही प्रक्रिया मार्फत अगाडि बढाउनु पर्नेमा त्यसो नगरी सम्बन्धित वडा तहका जनप्रतिनिधिको रहोवरमा स्थानीय मेलमिलाप केन्द्रले मिलापत्र गराएको घटनाले न्यायिक प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ’, विज्ञप्तिमा लेखिएको छ ।
यसरी मिलापत्र गराउनेलाई तत्काल कानुनी दायरामा ल्याई कारबाही प्रक्रिया अगाडि बढाउन ती सङ्गठनहरूले माग गरेका छन् । घटनाका दोषीहरूलाई उन्मुक्ति दिने प्रयास गरिए थप सशक्त विरोधका कार्यक्रम घोषणा गर्न बाध्य उनीहरूले चेतावनी दिएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij