Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौँ । नेकपा एमाले धनुषाको जिल्ला अधिवेशनमा दुई समूहबीच कुटाकुट भएको छ । केहि उम्मेदवारमा दावी विरोध परेको र सोही विषयलाई लिएर लफडा बढेको बताइएको छ । अधिवेशन स्थलमा कुर्सी समेत तोडफोड गरिएको छ । विवादका कारण मतदान प्रक्रिया अहिले रोकिएको छ ।
जिल्ला पदाधिकारीका लागि जिल्ला कमिटीमा वा भ्रातृ संगठनको केन्द्रीय कमिटीमा एक कार्यकाल बसेको हुनुपर्ने भएपनि विधान विपरीत परेको उम्मेदवारीमा दावी विरोधको उजुरी पर्दा पनि उम्मेदवारी खारेज नगरेको भन्दै विवाद भएको अध्यक्षका उम्मेदवार लक्ष्मीनारायण यादवले बताए ।
निर्वाचन समिति नै निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रूपमा गराउन नचाहेको उनले आरोप लगाए । उपसचिवमा उम्मेदवारी दिएका रुकाकुमारी मिश्र र लेखा समिति अध्यक्षका उम्मेदवार वीरेन्द्रलाल कर्णको मनोनयन पनि विधानविपरीत रहेको यादवको दाबी छ ।
निष्पक्ष र शान्तिपूर्ण निर्वाचनका लागि दबाब दिन भन्दै उनीहरू अहिले हलभित्रै धर्नामा बसेका छन् ।
धनुषामा एमाले सचिव रघुवीर महासेठको समूह तथा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, केन्द्रीय सदस्य उमाशंकर अरगरिया र संजीव झा ‘सुरज’ सहितका नेताहरूको धार छ । दुई समूहले प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन् ।
आज बिहान ८ बजेदेखि नै मतदानको कार्यतालिका प्रकाशन गरिएको थियो । तयारी नपुगेको भन्दै बिहान १० बजेका लागि सारियो । तर, लफडाले मतदान अनिश्चित भएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij