
May 18 2025 | २०८२, जेठ ४ गते
मुगु । जुम्लाको गुठिचौर गाउँपालिका–२ को झुलेनी भन्ने ठाउँमा चट्याङ लागेर २१ वटा भेडाबाख्रा मरेका छन् । शनिबार साँझ ५ बजे रुखमुनि बसेका बेला चट्याङ पर्दा ती भेडाबाख्रा मरेका हुन् ।
गुठिगाउँका किसान हिरबहादुर ऐडीका १६ र धनकृष्ण रोकायाका पाँचवटा भेडाबाख्रा चट्याङमा परेर मरेको गुठिचौर–२ का पूर्ववडाध्यक्ष तथा स्थानीय धनबहादुर बोहोराले बताए ।
घरमा ल्याउन रुखमुनि जम्मा गरी राखिएको अवस्थामा चट्याङ परेको थियो । हिरबहादुरका ५० वटा र धनकृष्णका ३० वटा भेडाबाख्रा छन् । उनीहरूको घरखर्च भेडाबाख्राबाटै चल्ने गरेको छ ।
चट्याङमा भेडाबाख्रा मरेपछि किसानहरू दुःखी भएका छन् । गुठिगाउँमा रहेका १७५ घरधुरीमध्ये एकसय भन्दा बढी परिवारले भेडाबाख्रा पाल्ने गरेका छन् ।
गाउँमा करिब ३,५०० भेडाबाख्रा रहेको बोहोराले बताए । उनका अनुसार एउटा भेडाबाख्राको मूल्य कम्तीमा १० हजारदेखि अधिकतम २५ हजार रुपैयाँसम्म पर्नेगर्छ ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका अनुसार जिल्लाकै सबैभन्दा बढी भेडापालन हुने ठाउँ गुठिचौरको पूर्वी क्षेत्र हो । पाटन र खर्कमा व्यवस्थित भेडीगोठ नहुँदा हरेक वर्ष चट्याङबाट भेडाबाख्रामा ठूलो क्षति हुने गरेको कार्यालयले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij