
Jun 09 2025 | २०८२, जेठ २६ गते
काठमाडौं । सरोकारवालाहरुले दिगो विकासका लागि भू-क्षय नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् । आज वन तथा वातावरण मन्त्रालय अन्तर्गत वन तथा भू-संरक्षण विभागद्वारा ललितपुर गोदावारीमा आयोजित ‘नेपालमा प्रकृतिमा आधारित समाधान मार्फत भू-क्षयिकरण सम्बोधन’सम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीमा सहभागीले दिगो विकासले लिएको लक्ष्यको प्रभावकारी कार्यान्वयनका लागि भूमिको क्षयीकरण रोक्नुपर्ने बताएका हुन् ।
वन तथा वातावरण मन्त्रालयका सचिव डा.राजेन्द्रप्रसाद मिश्रले जलवायु परिवर्तनका कारण सुक्खा बढिरहेको भन्दै यसले जमिनको क्षयीकरण पनि बढाएको बताउनुभयो । “वृक्षरोपणमा आधारित संरक्षणमा जोड दिन सकेमा भू-क्षय न्यूनीकरण गर्न सकिन्छ, यसका लागि बहुउद्देश्य नर्सरी स्थापनाका लागि जोड दिनुपर्छ । बहुउपयोगी बिरुवा किसानलाई वितरण गरौँ”, उहाँले भन्नुभयो,“प्रधानमन्त्री रोजगार कार्यक्रमलाई वृक्षरोपणमा जोड्न आवश्यक छ । जसले जमिनको क्षयीकरण रोक्दै दिगो विकासको लक्ष्य कार्यान्वयनमा सहयोग गर्छ ।”
वन तथा भू-संरक्षण विभागका महानिर्देशक बद्रीराज ढुङ्गानाले भूमि क्षयीकरण बिस्तारै रोक्दै जाने नीतिहरु रहेको भन्दै यसको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । “भूमिको संरक्षणका लागि हरियाली बढाउनु आवश्यक छ । भूमि प्रदूषण घटाउने, समूहको परिचालन, तीनै तहका सरकारबीचको सहकार्य बढाउन आवश्यक छ”, उहाँले भन्नुभयो,“प्रकृतिमैत्री भूव्यवस्थापनका प्रविधिहरु अपनाउन जरुरी छ । दिगो भू व्यवस्थापनका साथै, जलवायु उत्थानशीलतामा आधारित भई नीतिनियमहरु बनाउन सकिन्छ ।”
ढुङ्गानाले आवश्यकताअनुसार बजेट हुन नसक्दा पर्याप्त मात्रामा नतिजा आउने गरी भूमि क्षयीकरण न्यूनीकरणका नीति कार्यान्वयनमा कमजोरी देखिएको बताउनुभयो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij