Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । उप-प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा हरेक क्षेत्रको अपार सम्भावना रहेको बताउँदै त्यसको समुचित सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
मिडिया इन्टरनेसनल द्वारा आयोजित ‘काम गरौं आफ्नै देशमा’नामक वित्तीय साक्षरता, उद्यमशीलता तथा आर्थिक सम्भाव्यताको खोज अभियान कार्यक्रमको उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले नेपाली युवाले देशमै अवसर खोज्न सक्ने वातावारण निर्माण गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘आफूभित्रको सम्भावना र आफ्नै देशको सम्भाव्यता बुझ्न सकेको देशले मात्रै विकासमा गति लिन्छ। जोसँग जे छ, त्यसैको सदुपयोग गरेर अगाडि बढ्नुपर्छ । नेपालसँग नभएको केही चिज नै छैन । नेपालमा संसारको सबैभन्दा अग्लो सगरमाथा छ, हिमाल, पहाड, तराई छ । हामीसँग अन्नको भण्डार पनि धेरै नै छ। फलफूलका निम्ति अत्यन्तै सम्भावना बोकेको पहाड छ । जडिबुटीका निम्ति सम्भावना बोकेको हिमाली क्षेत्र छ । हामीसँग भएको वनस्पति, वन्यजन्तु संसारमा छैन होला । हरेक हिसावले सम्पन्न छौं ।’
उनले नेपालमा सगरमाथा देखि हिमाल, पहाड र तराईसम्मको भूगोलले अनन्त सम्भावना बोकेको बताए । उनले हिमाल, पहाड र तराई नेपालसँग भएकाले अन्न, फलफूल, जडिबुटी र वन्यजन्तुको दृष्टिले नेपाल सम्पन्न देश भएको बताए ।
अर्थमन्त्री पौडेलले जलस्रोतको दृष्टिले नेपाल संसारकै दोस्रो धनी देश भएको उल्लेख गर्दै त्यसको दीर्घकालीन व्यवस्थापनमा ध्यान दिनुपर्ने धारणा राखे ।
उनले नेपालसँग आगामी ५० वर्षसम्म आन्तरिक आवश्यकतालाई पूरा गर्न सक्ने स्रोतसाधनहरू प्रशस्त भएकाले त्यसको उपयोग गरी देशभित्रै रोजगारी सिर्जना गर्न र युवालाई स्वदेशमै अवसर दिन सकिने उनले उल्लेख गरे ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij