
Jun 17 2025 | २०८२, असार ३ गते
काठमाडौं । कालीगण्डकी फाउन्डेसन नेपालले प्रहरी हिरासत कक्षमा पुस्तकालय स्थापनाका लागि पुस्तक प्रदान गरेको छ । इलाका प्रहरी कार्यालय रामपुरको हिरासत कक्षका लागि १५० थान पुस्तक प्रदान गरेको हो ।
विभिन्न मुद्दामा हिरासतमा राखिने थुनुवा बन्दीलाई लक्षित गरी स्थापना गर्न लागिएको पुस्तकालयका लागि मङ्गलबार पुस्तक हस्तान्तरण गरिएको हो । पुस्तक हस्तान्तरण गर्दै कालीगण्डकी फाउन्डेसन नेपालका सल्लाहाकार सन्दिप रानाले पुस्तकले हिरासतमा आउने व्यक्तिहरूलाई सजाय भन्दा पनि सकारात्मक मार्गमा हिँड्न प्रेरित गर्ने बताउनुभयो । पुस्तकालयले प्रहरी र थुनुवाको दैनिकीसँगै आचरण तथा व्यवहार परिवर्तन गर्न सहयोग पुर्याउने बताउनुभयो ।
रामपुर–४ का वडाध्यक्ष रामबहादुर रानाले पुस्तकले व्यक्तिको जीवन परिवर्तनसँगै समाज रूपान्तरणमा महत्त्वपूर्ण टेवा दिने बताउनुभयो । कालीगण्डकी फाउन्डेसन नेपालका अध्यक्ष निलकण्ठ भण्डारीले हिरासतमा आउने व्यक्तिहरूलाई पुस्तकमा रमाउन र नैरास्यता हटाएर सकारात्मक सोच सहित अघि बढ्न उत्प्रेरणा प्रदानका लागि पुस्तक प्रदान गरिएको बताउनुभयो ।
पुस्तकालयमा प्रसिद्ध लेखकका साहित्यिक पुस्तकसँगै विभिन्न विधाका पुस्तक रहेका छन् । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामबहादुर नेपालीले शिक्षा बाट नै समाज परिवर्तन हुन्छ भन्ने मान्यतालाई अनुसरण गर्दै हिरासत कक्षमा पुस्तकालय स्थापना गर्न लागिएको जानकारी दिनुभयो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij