Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । जिल्लाको आँबुखैरेनी अस्पतालमा झाडापखाला र ज्वरोका बिरामी बढ्न थालेका छन्।
मौसम परिवर्तन भएसँगै झाडापखाला र ज्वरोको बिरामी बढी आउने गरेका हुन्। दिनमा १५० जनाभन्दा बढी बिरामी उपचारका लागि आउने गरेकामा करिब २० जना ज्वरोका र १५ जना झाडापखालाका बिरामी देखा पर्न थालेका अस्पतालका सुपरिटेन्डेन डा.डिबी क्षेत्रीले जानकारी दिए।
“पहिला एक–दुई जना बिरामी देखिनेमा अहिले त्यो सङ्ख्या १५–२० पुगेको छ। पखालाका बिरामीलाई अस्पतालमा भर्ना गरेर उपचार गरिरहेका छौँ”, उनले भने।
ज्वरोका बिरामीको स्वास्थ्य परीक्षण गरी भाइरल सङ्क्रमण देखिएमा सिटामोल लगायत आवश्यक औषधि दिने गरिएको बताउँदै निको नभएका वा गम्भीर प्रकृतिका बिरामीको रगत जाँच गरी टाइफाइड र डेङ्गी परीक्षण गर्ने गरिएको सुपरिटेन्डेन डा.क्षेत्रीले जानकारी दिए।
उनका अनुसार बिरामीले रोग निको नहुँदासम्म सफा,स्वच्छ पानी प्रशस्त पिउने,आराम गर्ने, झोलिलो पदार्थ प्रशस्त पिउने लगायत सुझाव दिने गरिएको छ।
अस्पतालमा मधुमेह,उच्च रक्तचाप, हाडजोर्नी, छालाजन्य, प्रसूतिलगायत बिरामीको सङ्ख्या पनि बढ्दै गएको अस्पताल प्रशासनले जनाएको छ। यति बेला खेती लगाउने समय भएकाले बहिरङ्ग (ओपिडी) घुइँचो कम भए पनि इमरजेन्सी कक्षमा बिरामीको चाप बढिरहेको छ।
विसं २०७९ मङ्सिर १ गते सञ्चालनमा आएको यस अस्पतालले क्रमिक रूपमा स्वास्थ्य सेवा विस्तार गर्दै नागरिकलाई सेवामा सहज बनाउँदै आएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij