
Jul 03 2025 | २०८२, असार १९ गते
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस (प्रिन्सिपल कार्यालय) को शौचालयमा ताला लगाइएको छ ।
त्रिवि स्ववियुले प्रिन्सिपलको कार्यालयको शौचालयमा ताला लगाएको हो । प्रिन्सिपल कार्यालयका शौचालयहरू मर्मत नभएको, सरसफाइ नगरिएको जस्ता विषयमा आपत्ति जनाउँदै स्ववियुले शौचालयमा नै ताला लगाएको हौ । शौचालयमा ताला लगाइएपछि त्यहाँका कर्मचारीहरू अन्यत्र गएर शौच गर्न बाध्य भएका छन् ।
त्यस्तै प्रिन्सिपल अक्कलदेव मिश्रको कुर्सी समेत बाहिर राखिएको छ । काम नहुने पदको औचित्य नभएको भन्दै स्ववियुले प्रिन्सिपलको कुर्सी नै कार्यकक्ष बाहिर राखिएको हो ।
स्ववियुले ब्वाइज होस्टल, गल्र्स होस्टल, व्यवस्थापन भवन अगाडिका शौचालयहरू सफा गर्नुपर्ने, घाँस काट्नुपर्ने जस्ता विषयमा प्रिन्सिपल कार्यालयको ध्यानाकर्षण गराएको थियो ।
तर, सरसफाइ जस्ता आधारभूत विषयमा समेत पटक–पटक ध्यानाकर्षण गराउँदा प्रशासनले बेवास्ता गरेपछि तालाबन्दी र कुर्सी बाहिर राख्नुपरेको स्ववियुले जनाएको छ ।
स्ववियुले सीसीटीभी मर्मत तथा थप जडान गर्नुपर्ने, ब्वाइज तथा गल्र्स होस्टलमा खानेपानी र सरसफाइ सुधार गर्नुपर्ने, सम्पूर्ण शौचालयमा पानीको स्थायी व्यवस्था गर्नुपर्ने, लाइट जडान गर्नुपर्ने, बेसिनहरूमा पाइपलाइन र ह्यान्डवास सुविधा सुनिश्चित गर्नुपर्ने लगायतका माग राख्दै आएको छ ।
ती मागहरू सुनुवाइ नभएको भन्दै स्ववियुले असार १६ गतेदेखि शौचालयमा तालाबन्दी गर्नुका साथै प्रिन्सिपलको कुर्सी बाहिर राखेको हो । ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij