
Jul 04 2025 | २०८२, असार २० गते
काठमाडौं । इरानले इजरायलसँगको युद्धका कारण जुन १३ मा बन्द गरिएको आफ्नो हवाई क्षेत्र पुनः खोलेको छ।
“मेहराबाद र इमाम खोमेनी विमानस्थलहरूका साथै देशको उत्तर, पूर्व, पश्चिम र दक्षिणका विमानस्थलहरू पुनः सञ्चालनमा ल्याइएको छ र उडान सेवाहरू प्रदान गर्न तयार छ”, आधिकारिक इरना समाचार एजेन्सीले भनेको छ ।
इस्फहान र तब्रिज विमानस्थल बाहेक देशका सबै विमानस्थल बाट घरेलु र अन्तर्राष्ट्रिय उडानहरू स्थानीय समयानुसार शुक्रबार बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गरिने अधिकारीहरूले बताएका छन् ।
साथै, इस्फहान र तब्रिज विमानस्थलको पूर्वाधार तयार भएपछि यी दुई विमानस्थल पनि देशको हवाई यातायात नेटवर्कमा सामेल हुनेछन् ।
यसैबीच, संयुक्त राज्य अमेरिकाले गत महिना इजरायल र इरानबीच युद्धविराम लागू भएपछि इरानी तेल निर्यातविरुद्ध बिहीबार नयाँ प्रतिबन्धको शृङ्खला जारी गरेको अल जजिराले जनाएको छ ।
प्रतिबन्धले लक्षित गर्नेहरूमध्ये इराकी व्यापारी सलिम अहमद सइद र उनको संयुक्त अरब इमिरेट्समा आधारित कम्पनी पनि छन् । सइदमाथि अमेरिकाले इराकी तेलमा मिसाएर इरानी तेल तस्करी गरेको आरोप लगाएको छ ।
यस वर्षको जुनमा इजरायल र अमेरिकाले हवाई आक्रमणको लहर सुरु गरेपछि इरानले आफ्नो हवाई क्षेत्र पूर्ण रूपमा बन्द गरेको थियो । इजरायल र अमेरिकाले आक्रमण गरेपछि इरानले जवाफी क्षेप्यास्त्र प्रहार गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij