Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । चितवन स्थित भरतपुर अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिने भएको छ।
भरतपुर् अस्पताल तथा नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थबीच भरतपुर अस्पताल परिसरभित्र राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना तथा संचालन गर्नका लागि सोमबार एक सम्झौतामा हस्ताक्षर भएको छ।
सम्झौतापत्रमा भरतपुर अस्पताल विकास समितिको तर्फबाट समितिका अध्यक्ष राजु पौडेल तथा भरतपुर अस्पताल, चितवनका प्रमुख मेडिकल सुपरिन्टेनडेन्ट प्रा.डा.कृष्ण प्रसाद पौडेल एवं नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थको तर्फबाट इन्स्टिच्युटका कार्यकारी निर्देशक डा.श्रीधर पौडेल तथा कार्यसमिति सदस्य डा.खगेन्द्र काफ्लेले हस्ताक्षर गरे ।
सम्झौता अनुसार उक्त केन्द्रबाट अन्तरराष्ट्रिय स्तरको नवीन प्रविधि सहित सुलभ, गुणस्तरीय तथा बहु आयामिक एकीकृत मानसिक स्वास्थ्य सेवा सम्बन्धी कार्यक्रमहरु संचालन गरिनेछ।
नेपालमा मानसिक तथा मनोसामाजिक स्वास्थ्यमा सुधार गरी नेपालीहरुलाई उत्पादनशील र गुणस्तरीय स्वस्थ जीवनयापन गर्न मदत गर्ने र नेपालको मानसिक स्वास्थ्य सेवा प्रणालीलाई सबल, पहुँच योग्य बनाउन सघाउने उद्देश्यले राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिएको नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थका कार्यकारी निर्देशक डा.श्रीधर पौडेलले बताए ।
अमेरिकाको हार्वर्ड मेडिकल स्कुलमा साइकियाट्री विषयका सहायक प्राध्यापकको रुपमा कार्यरत डा.पौडेलले नेपालमा मानसिक समस्या रहेका व्यक्तिहरुमध्ये १५ देखि २० प्रतिशतले मात्रै त्यस्तो सेवा प्राप्त गरिरहेको र अधिकांश मनोचिकित्सक तथा स्वास्थ्य केन्द्रहरु काठमाडौँ उपत्यका भित्र सीमित रहेको बताए।
उनले चितवनमा स्थापना गरिने स्वास्थ्य केन्द्रबाट उपत्यका बाहिर मानसिक स्वास्थ्य सेवा विस्तार गर्न ठूलो मदत पुग्ने विश्वास व्यक्त गरे । उक्त केन्द्रले बिरामीहरुको उपचारसंगै क्षमता अभिवृद्धि, अनुसन्धान, जनचेतना, पैरवी तथा अधिकारमा आधारित स्याहार तथा सेवा प्रवाह गर्ने उनले जनाए ।
यसैगरी भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले अस्पतालका अध्यक्ष राजु पौडेलले केन्द्र स्थापनाकालागि तत्काल ५ करोड रुपैयाँ खर्च लाग्ने र सो रकममध्ये इन्स्टिच्यूटले आधा रकम लगानी गर्ने सम्झौता भएको जानकारी दिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij