Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

हवाई पूर्वाधार क्षेत्रमा उल्लेख्य प्रगति हासिल भएको छः निवर्तमान पर्यटनमन्त्री

हवाई पूर्वाधार क्षेत्रमा उल्लेख्य प्रगति हासिल भएको छः निवर्तमान पर्यटनमन्त्री

  • काठमाडौं । निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सुशासन प्रवद्र्धन, नीतिगत सुधार तथा नागरिक उड्डयन क्षेत्रको पूर्वाधार विकास र सेवा सुदृढीकरणमा उल्लेख्य काम भएको बताउनुभएको छ । विकसित राजनीतिक घटनाक्रमपछि आइतबार पदबाट राजीनामा दिनुभएका भट्टराईले आज मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा आफ्नो १७ महिने कार्यकालमा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको विषमावस्थामा पनि मन्त्रालयले नीतिगत र प्रशासनिक सुधारका काम गरेको जिकिर गर्नुभयो ।  नागरिक उड्डयनतर्फ पूर्वाधार क्षेत्रमा उल्लेख्य प्रगति हासिल भएको बताउँदै उहाँले भन्नुभयो,  “चाहेर पनि मन फुकाएर काम गर्न र प्रभावकारी योजना अघि बढाउन सकिएन । सङ्कुचित र नियन्त्रित ढङ्गले काम गर्नुपर्ने बाध्यता थियो, त्यसैले सोचेअनुरुप उपलब्धि भएन ।” 
     
    नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का नेता भट्टराईले विसं २०७६ साउन १५ गते पर्यटनमन्त्रीको जिम्मेवारी सम्हाल्दै गर्दा आर्थिक वर्षको कार्यक्रम कार्यान्वयन तथा वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेका सन्दर्भमा बढी नै जिम्मेवारी थियो । मुलुकको अर्थतन्त्रको मुख्य आधार पर्यटन क्षेत्रमा पूर्वाधार विकास र गन्तव्य प्रवद्र्धन गरी अर्थतन्त्रलाई बलियो बनाउने दायित्वलाई पनि आत्मसात् गरेर कार्ययोजना अघि बढाइएको पूर्वमन्त्री भट्टराईले बताउनुभयो ।पर्यटन मन्त्रालयले अघिल्लो आर्थिक वर्षमा झण्डै ६० प्रतिशत भौतिक प्रगति गरेको थियो । महामारीका कारण छ महिना पूँजीगत खर्च हुन नसकेको र प्रभावकारीरुपमा जनशक्ति परिचालन हुन नसकेपछि मन्त्रालयले लिएको ८० प्रतिशतभन्दा बढी लक्ष्यलाई भेट्टाउन नसकिएको भट्टराईको भनाइ थियो ।
     
     पर्यटन मन्त्रालयले पूर्वाधार विकासतर्फ निकै प्रगति गरेको छ । नागरिक उड्डयन क्षेत्रमा राष्ट्रिय गौरवका आयोजना गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र  पोखरा क्षेत्रीय विमानस्थलको उल्लेख्य प्रगति छ । गौतमबुद्ध विमानस्थल शीघ्र सञ्चालनको तयारीमा छ । 
     
     निवर्तमान मन्त्री भट्टराईले पूर्वाधार विकास, आधुनिक उपकरण जडान र  सुरक्षित उडानमा प्रगति हासिल भएको बताउनुभयो । युरोपेली सङ्घले नेपालको हवाई क्षेत्रमाथि लगाएको प्रतिबन्ध फुकुवाका लागि सकारात्मक पहलकदमी लिएको र अब छिट्टै नेपाल सङ्घको सुरक्षा चासो सूचीबाट हट्ने विश्वास व्यक्त गर्नुभयो ।मन्त्रालयले विसं २०३४ को ऐन विस्थापन गरी नयाँ पर्यटन ऐन मस्यौदा तयारी गरी मन्त्रिपरिषद्मा पठाउने चरणमा छ । हवाई नीति मस्यौदा पनि मन्त्रिपरिषद्मा लैजाने तयारी छ । मुलुक सङ्घीय संरचनामा गएपछि पर्यटकीय पूर्वाधारमा तीन तहका सरकारको साझेदारीलाई अघि बढाइएको छ । मन्त्रालयले करीब २०० आयोजना छनोट गरेको छ ।
     
      पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले सुशासन प्रवद्र्धन, राष्ट्रिय गौरवका आयोजनाको निरन्तर अनुगमन तथा कुनै विषयमा छिट्टै निर्णय लिन सक्ने नेतृत्वदायी क्षमता भएका पर्यटनमन्त्रीको बिदाइ गर्नुपर्दा दुःख लागेको बताउनुभयो ।  मन्त्रालयका उपसचिव मोहन घिमिरेले पर्यटनमन्त्री भट्टराईले मन्त्रालयको नीतिगत सुधार र पूर्वाधार विकासका आयोजनालाई प्रगतिउन्मुख बनाउन सकारात्मक नेतृत्व गरेको बताउनुभयो । निवर्तमान पर्यटनमन्त्रीलाई मन्त्रालयका उच्च अधिकारी, मातहत निकायका प्रमुख एवं प्रतिनिधिले मायाको चिनोसहित बिदाइ गर्नुभएको थियो ।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij