Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्मा नेपालले युक्रेनलाई साथ दिएको छ । स्वीट्जरल्याण्डको जेनेभास्थित परिषद्को कार्यालयमा भएको मतदानमा नेपालले युक्रेनको समर्थन गरेका हुन् ।
परिषदले हिजो ‘रुसले आक्रमण गरेपछि युक्रेनमा मानवअधिकारको अवस्था’ प्रस्तावमा छलफल गर्न आपत्कालिन बैठक बोलाएको थियो । प्रस्तावको पक्षमा मतदान गर्ने २९ राष्ट्रमा नेपाल पनि रहेको थियो । बैठकमा उक्त विषयमा छलफल गराउने वा नगराउने भन्ने विषयमा मतदान भएको थियो ।मतदानमा परिषद्का ४७ सदस्य राष्ट्रमध्ये प्रस्तावको पक्षका २९, विपक्षमा ५ र तटस्थ १३ राष्ट्र बसेका थिए ।
नेपालका छिमेकी राष्ट्र भारत र चीन विपक्षका उभिएका बेला नेपालले युक्रेनलाइ साथ दिएको छ । प्रस्तावको पक्षमा मतदान गर्ने २९ राष्ट्रमा नेपाल, अर्जेन्टिना, बेनिन, बोलिभिया, ब्राजिल, आइभेरीकोस्ट, फिनल्याण्ड, फ्रान्स, जर्मनी, गाम्बिया, होन्डुरस, इन्डोनेसिया, जापान, लिथुवानिया, लिबिया, लक्जेम्बर्ग, मलावी, मलेसिया, मार्सेला आइल्याण्ड, मेक्सिको, मोन्टेनिग्रो, नेदरल्याण्ड्स, पराग्वे, पोल्याण्ड, कतार, दक्षिण कोरिया, बेलायत, अमेरिका र युक्रेन रहेका छन् ।
मतदान पछि अब राष्ट्रसंघको मानवअधिकार परिषदमा ‘रुसले आक्रमण गरेपछि युक्रेनमा मानवअधिकारको अवस्था’ सम्बन्धमा बहस हुनेछ । रुसले गत बिहीबारबाट युक्रेनमा सैन्य आक्रमण सुरु गरेको छ । रुसले स्थल र हवाई दुवै मार्गबाट युक्रेनमाथि आक्रमण गरिरहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij