Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले आसन्न स्थानीय तह निर्वाचनमा गठबन्धनभित्र पूर्ण तालमेल नभए आंशिक तालमेल हुने बताएका छन् ।
समाजवादी प्रेस सङ्गठन धनुषाले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता खतिवडाले भने, ‘हामी गठबन्धनमा आवद्ध सबै दलबीच तालमेल गर्ने प्रयास गरिरहेका छौँ, कांग्रेसभित्र दुई थरी विचार रहेकाले तालमेल नहुन पनि सक्छ ।’
यस्तो अवस्थामा (नेकपा माओवादी) केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीबीच तालमेल हुने उनको भनाइ थियो । कांग्रेससँग चुनावी तालमेल नभए पनि राजनीतिक गठबन्धन नटुट्ने खतिवडाले बताए । राष्ट्रियताको रक्षाका लागि, प्रतिगमनकारी षड्यन्त्रविरुद्ध र लोकतान्त्रिक एकताका लागि गठबन्धनलाई कायम राखेर अघि बढ्नुपर्नेमा गठबन्धन दलहरु एकमत रहेको उनले बताए ।
चुनावी परिणामको डरले नभइ मुलुकलाई अझै केही समय सहकार्यको संस्कृतिमा हिँडाउनुपर्ने परिस्थितिका कारण आफुहरु गठबन्धनमा जोड दिइरहेको उल्लेख गर्दै खतिवडाले राष्ट्रियताका पक्षधर जुनसुकै शक्तिसँग आफूहरु सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए । प्रवक्ता खतिवडाले घोषणापत्र तयार गर्ने काम भइरहेकाले केही दिनभित्रै पार्टीले जारी गर्ने जानकारी दिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij