Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जितेको निर्वाचन क्षेत्र काठमाडौं–४ मा नेकपा (एमाले)ले कांग्रेसलाई क्लिन स्वीप गरेको छ । थापाको निर्वाचन क्षेत्र बूढानीलकण्ठ नगरपालिका ८ नम्बर वडा र काठमाडौं महानगरपालिका ४ वटा वडा पर्दछन्।
बूढानीलकण्ठ नगरपालिकाका ८ वटा वडामा एमालेले जितेको छ। काठमाडौँ महानगरपालिकाको परिणाम प्रकाशित भएको एउटा वडा पनि एमालेले जितेको छ। ३ वटा वडामा गणना जारी छ।
एमालेले बूढानीलकण्ठका १, २, ८, ९, १०, ११, १२ र १३ र काठमाडौंको १ नम्बर वडा जितेको छ। एमालेका स्थायी समिति सदस्य डा.राजन भट्टराईको निर्वाचन क्षेत्र पनि यही हो। यसपटकको निर्वाचनमा उनी आफैंले कमाण्ड गरेका थिए।
भट्टराई यसअघि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस उम्मेदवार थापासँगै पराजित भएका थिए। कांग्रेसका थापा र भट्टराईले यो क्षेत्रलाई आफ्नो प्रतिष्ठाको विषय बनाउँदै आएका छन्।
बूढानीलकण्ठ नगरपालिकाको मेयर र उपमेयरसहित बहुमत वडा एमालेले जितिसकेको छ। मेयरमा १४ हजार २५० मत ल्याएर मिठाराम अधिकारी विजयी भएका छन्। त्यहाँ निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विनोद चालिसे ११ हजार ५१२ मतमा सीमित भए।
उपमेयरमा १४ हजार ३१४ मतसहित एमालेकै अनिता लामा विजयी भइन्। उपमेयरको प्रतिद्वन्द्वी पनि नेपाली कांग्रेसकै रमिला वाग्ले थिइन्। उनले ११ हजार ९७२ मत ल्याइन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij