Jun 16 2026 | २०८३, असार २ गते
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका वीरेन्द्र चौधरीलाई पैसाका लागि अरुको मुख ताक्नुपरेको छैन । पैसाकै लागि मजदुरी गर्नुपर्ने र वैदेशिक रोजगारीमा जाने हतारोसमेत छैन । घरकै बारीमा तरकारी खेती गरेर उहाँले वार्षिकरूपमा रु आठ लाख बढी आम्दानी गर्दै आउनुभएको छ । विदेशमा दुःख गर्दासमेत गतिलो आम्दानी हात पार्न नसकेका उहाँले बारीमा तरकारी रोप्न थालेपछि विगतका दुःखका दिन बिर्सेका छन् ।
दुई वर्षका लागि वैदेशिक रोजगारी गर्न साउदी अरेविया गएका उहाँलाई स्वास्थ्यले साथ नदिएपछि पूरा समयावधि काम गर्न नपाइ स्वदेश फर्केका हुन् । “धेरै पैसा कमाउने सपना बोकेर वैदेशिक रोजगारीमा गएको थिएँ”, उहाँले भन्नुभयो, “अत्यधिक गर्मीका कारण पेट दुख्ने र खुट्टा दुख्नेलगायत स्वास्थ्य समस्याले काम गर्न नपाइ घर फिर्ता भएँ । वैदेशिक रोजगारीमा जाँदा लागेको कर्जा र पछि उपचार गर्न लागेको कर्जा तिर्न निकै समस्या थियो ।”
“गाउँकै साहुबाट कर्जा लिएकाले घरदैलोमै पैसा माग्नका लागि आउने गर्दथे”, विगत सम्झँदै उहाँले भन्नुभयो, “घर फर्केपछि हाउस पेन्टिङको कार्य गर्न थाले । त्यसबाट केही पैसा जम्मा भयो । ती पैसामध्ये केही कर्जावापतको ब्याज तिर्न भ्याएँ । जम्मा भएको केही रकम तरकारी खेतीका लागि आवश्यक पर्ने बीउबिजन, रसायनिक मल, विषादी खरिद गर्नका लागि राखेँ ।”
शुरुमा थारै जग्गामा तरकारी खेतीका गरेका चौधरीले विस्तारै तरकारी खेती गर्ने जग्गाको क्षेत्रफल बढाउँदै लगे । हाल स्वामित्वको दुई बिघा जग्गामा उहाँले तरकारी रोप्नुभएको छ । “परम्परागतरूपमा तरकारी रोप्दै आएका थियौँ”, उहाँले भन्नुभयो, “तालिम लिएपछि तरकारी लगाउने तौरतरिका सिकेपछि आम्दानी मात्रै बढेको छैन । वैदेशिक रोजगारीमा जाँदा लागेको कर्जासमेत तिर्न सकिएको छ ।” उहाँको हिउँदे तरकारी बालीमा आलु, काउली, ब्रोकाउली, गोलभेँडा, खुर्सानी, बन्दा, हरियो सागपातलगायत रहेको छ । रासस
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij