Jun 16 2026 | २०८३, असार २ गते
सुभानु आचार्य, ललितपुर । ललितपुर महानगरपालिका–१९ पूर्णचण्डीमा अवस्थित प्राचीन अग्निशाला छानोमा २४ गेज मोटाइको तामा राखिने भएको छ । पाँच हजार वर्ष पुरानो सो अग्निशालामा जति सानो गेज मोटाइको तामा प्रयोग गरिन्छ त्यति नै बढी वर्षसम्म टिक्ने र बाक्लो पनि हुने भएकाले चाँडै नबिग्रियोस् भनी सो गेज मोटाइको तामा हाल्न लागिएको हो ।
अग्निशाला व्यवस्थापन समितिका अध्यक्ष निगेन्द्रराज शर्माले अग्निशालामा एकदमै बाक्लो २२ गेज मोटाइको तामा छाउन मन भए पनि खरीद गर्न धेरै महङ्गो पर्ने भएकाले २४ गेज मोटाइको तामा छाउन लागिएको बताउनुभयो । उहाँका अनुसार ललितपुर महानगरपालिकाले २६ गेज मोटाइ तामा प्रयोग गर्न अनुमान गरिदिएको र रु ४० लाख दिएको हुँदा २२ गेज मोटाइको तामा खरीद गर्न धेरै रकम अभाव हुने भयो ।
छब्बीस गेजको तामा अलि पातलो हुने भएकाले २२ र २६ बीचको २४ गेज मोटाइ तामा गुणस्तरीय र लामो समय टिकाउ हुने आधारमा प्रयोग गर्ने योजना बनाएको उहाँले बताउनुभयो । उहाँका अनुसार विसं १९९० अघि यसमा झिँगटीको छाना छाइएको थियो । ९० सालको भूकम्पले छानो भत्किएपछि बेलायत सरकारबाट सहयोग प्राप्त जस्ताको छानो हालियो । अग्निशालालाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गर्न जस्ताको छानोले मान्यता नपाउने हुँदा तामाको छानो हाल्न लागिएको हो । “अब आउँदो १०० वर्षसम्म पनि यस तामाले काम देओस् भन्ने सोचअनुरुप महानगरपालिकाको अनुमतिमा केही फेरबदल गरी २४ गेज मोटाइको तामा हाल्न लागिएको हो ।” अग्निशालामा सो मोटाइको तामा प्रयोग गर्दा महानगरपालिकाले दिएको रकममा रु छ लाखदेखि सात लाख अपुग हुन्छ । सो अपुग भएको रकम जनश्रमदान वा भक्तजनबाट सङ्कलन गरी प्रयोग गरिने भएको शर्माले जानकारी गराउनुभयो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij