Jun 16 2026 | २०८३, असार २ गते
कास्की । परीक्षा केन्द्र भन्दा बाहिर होटलमा लगि अमर्यादित रुपमा परीक्षा लिएको र अन्य प्रचलित कानून बिपरितको कसूरजन्य कार्य गरेको अभियोगमा पोखरा महानगरपालिका–१ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यामिक बिद्यालय कास्कीका ३ जना शिक्षकलाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–१८ कास्कीकोट स्थायी घर भई हाल सोही महानगरपालिका(१ बाघबजार बस्ने उक्त बिद्यालयका प्रधानाध्यापक ४८ वर्षीय सूर्य तिवारी, रुपा गाउँपालिका(४ सिद्ध स्थायी घर भई हाल पोखरा महानगरपालिका–११ फुलवारी बस्ने शिक्षक ४१ वर्षीय घनश्याम रेग्मी र पोखरा महानगरपालिका–२० भलाम बस्ने सोही विद्यालयका शिक्षक ४० वर्षीय शिरिष कुमार बस्ताकोटी रहेका छन् । उक्त विद्यालयका शिक्षकहरुले कक्षा ११ को ऐच्छिक अंग्रेजी र शैक्षणिक बिधि विषयक आंशिक परीक्षामा सोही विद्यालयकी एक छात्रालाई परीक्षा केन्द्र भन्दा बाहिर होटलमा लगि अमर्यादित रुपमा परीक्षा लिएको र अन्य प्रचलित कानून बिपरितको कसूरजन्य कार्य समेत भएको हुन सक्ने देखिएकोले आवश्यक अनुसन्धान गरी दोषी उपर कारवाही हुन भन्ने राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरको पत्र जाहेरी सहितको कागजातहरु माघ २ गते प्राप्त भएपछि उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु उपर शिक्षा ऐन अन्तर्गत मुद्दामा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद भई आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij