Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौँ : पछिल्लो एक दशक टेलिकम सेवाप्रदायकका लागि प्रतिकूल रह्यो । यस अवधिमा केही सेवाप्रदायक बन्द भए भने यस क्षेत्रबाट हुने समग्र आम्दानीमा पनि सङ्कुचन आयो ।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार सन् २०१५ सम्म छ वटा सेवाप्रदायक रहेकामा अहिले दुई वटा सेवा प्रदायक मात्र अस्तित्वमा छन् । सञ्चालनमा रहेका सेवा प्रदायकको आम्दानी पनि औसतमा २५ प्रतिशतले ओरालो लागेको छ । टेलिकम सेवाप्रदायकको आम्दानीमा सङ्कुचन आउँदा यसको सोझो असर राज्यले प्राप्त गर्ने राजस्वमा पनि परेको छ ।
विश्व बैंकले सार्वजनिक गरेको नेपालसम्बन्धी प्रतिवेदनमा सन् २०१६ मा टेलिकम सेवाप्रदायक क्षेत्रको मुलुकको कूल गार्हस्थ्य उत्पादन ९जिडिपी०मा करिब चार प्रतिशत योगदान रहेकामा सन् २०२३ मा आइपुग्दा यो आधाभन्दा बढीले कम भएको छ । सन् २०१६ मा टेलिकम सेवाप्रदायकको जिडिपीमा तीन दशमलव नौ प्रतिशत योगदान रहेकामा सन् २०२३ मा आइपुग्दा एक दशमलव आठ प्रतिशतमा सीमित भएको छ । त्यति मात्रै होइन, त्यसयता टेलिकम सेवाप्रदायकको योगदान बर्सेनि घट्दो क्रममा छ ।
विज्ञहरु यदि समयमै नीतिगत सुधार नहुने हो भने टेलिकम सेवाप्रदायकको आम्दानी र सरकारले प्राप्त गर्ने राजस्व थप सङ्कुचित हुने बताउँछन् । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वकार्यकारी निर्देशक आनन्दराज खनालका अनुसार हाल टेलिकम कम्पनीहरु सङ्कटोन्मुख अवस्थामा छन् ।
टेलिकम कम्पनीको अनुमतिपत्र नवीकरण शुल्कदेखि, भाइबर, ह्वाट्स एप, इमोलगायत ओटिटी ओभर दि टप प्लेटफर्मलगायतका समस्या सम्बोधन नगर्ने हो भने टेलिकम कम्पनीलाई आगामी दिनमा व्यवसाय सञ्चालन गर्न गाह्रो हुने अवस्था आउनसक्ने उनको विश्लेषण छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij