Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी माघ २ गतेदेखि पार्टी सङ्गठन निर्माण अभियान सुरु गर्ने निर्णय गरेको छ । शनिबारदेखि सुरु भएको दुईदिने केन्द्रीय समितिको पहिलो बैठकले दुई महिनासम्म सो अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले पहिलो दिनको बैठकले विभिन्न पाँच विषयमा छलफल भएको जानकारी दिनुभयो । बैठकमा पार्टीको अधिवेशन तथा महाधिवेशन सम्पन्न गर्दै सङ्गठन निर्माण चरणलाई निर्धारित समयमा पूरा गर्न राष्ट्रव्यापी सङ्गठन निर्माण अभियान सञ्चालन, केन्द्रीय सदस्यको नेतृत्वमा केन्द्रीय विभाग, प्रदेश समिति, प्रदेश विभागका साथै पार्टीको सम्बन्धित निकायले सिफारिस गरेका विज्ञ सदस्य रहेको जिल्ला समितिअन्तर्गतका पार्टी संरचनालाई सहयोग तथा सहजीकरण गर्न जिल्लाअनुसार कार्यदल निर्माण गर्नेबारे बैठकमा छलफल भएको उहाँले जानकारी दिनुभयो ।
यसरी गठन हुने कार्यदलले सदस्यता विस्तारका साथै पालिका तथा वडा समिति निर्माण गर्न जिल्ला समिति तथा पालिका समितिलाई सहजीकरण गर्नेछ ।
बैठकमा कार्यवाहक सभापति डोलप्रसाद (डिपी) अर्याल, उपसभापति डा स्वर्णिम वाग्लेले समसामयिक राजनीति र पार्टी गतिविधिबारे अवगत गराउनुभएको थियो । प्रदेश महामन्त्रीहरूको सहभागिता रहेको आजको बैठकमा केही समयअघि सम्पन्न स्थानीय तहको उपनिर्वाचनको समीक्षा प्रतिवेदन पेस गरी आवश्यक छलफल गरेको जनाइएको छ ।
यस्तै, बैठकले दिवङ्गत नेपालकी प्रथम महिला राजदूत विन्देश्वरी शाहप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको र हालै अध्यादेशमार्फत ल्याइएको सहकारीसम्बन्धी विधेयकका सम्बन्धमा छलफल जारिरहेको कार्यवाहक प्रवक्ता झाले बताउनुभयो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij