Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौं । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली काँग्रेस कोशी प्रदेशका सभापति उद्धव थापामाथि हातपात गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । थापामाथि गृहजिल्ला झापामा आक्रमण भएको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी मिलन केसीले शिवसताक्षी नगरपालिका ११ का ४९ वर्षीय भक्तबहादुर कटुवाल र कनकाई नगरपालिका ३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठलाई पक्राउ गरिएको बताए । एक जना भने विद्युत् प्राधिकरणका चालक रहेको केसीले बताए । उनीहरूलाई सोधपुछ भइरहेको केसीले बताए ।
थापामाथि झापाको कनकाईस्थित जामुनबारी चोकमा शनिवार साँझ हातपात भएको थियो । भीआईपी सवार गाडीलाई साइड नदिएको र भीआईपी भनेर चिनेपछि हातपात गरेको प्रहरीले जनाएको छ ।
विद्युत् प्राधिकरणका कर्मचारी सवार गाडीलाई थापा चढेको गाडीले ओभरटेक गर्ने क्रममा विवाद भएको थियो । सोही विवादका क्रममा ती चालकले थापामाथि हातपात गरेका हुन ।
थापाकै गाडीमा रहेका काङ्ग्रेस झापाका सचिव कृष्ण हुमागाईँका अनुसार पूर्वमुख्यमन्त्रीको गाडी हो साइड दिनुस् भनेर पिएसओले गाडी रोकेरै भनेपछि ती चालक ‘देश लुट्ने यिनै हुन्, नेता जति सबै चोर’ हुन् भन्दै आक्रोशित भएका थिए । त्यसपछि प्राधिकरणको चालक आएर एक्कासि आँखामा मुक्का प्रहार गर्यो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij