Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौं । बजार अनुगमनका क्रममा सुधारको मौका प्रदान गरिएका व्यवसायीले तोकिएको समयमा मापदण्ड पुरा नगरे कानुनी कारवाहीको विकल्प नभएको काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले बताएकी छन् ।
कृषि तथा पशुपन्छी विभागका प्रमुख एवं निमित्त प्रमुख प्रशासकीय अधिकृत नुरनिधि न्यौपाने, खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमका विज्ञ सल्लाहकार जीवनप्रभा लामा, कार्यक्रमका सल्लाहकार सन्तोष गिरीसहित अनुगमनमा खटिएका अधिकारीहरुसँग कुरा गर्दै उपप्रमुख डंगोलले यस्तो धारणा राखेकी हुन् ।
अनुगमनका क्रममा बजारबाट विक्री गरिने खाद्य सेवाका बस्तुको ढुवानी, भण्डारण, प्रशोधन, खाद्य बस्तुको उत्पादन, पकाइएको खानेकुराको भण्डारण, भण्डारणको अवधि र विधि, व्यवसायका सही र गलत प्रयोग, गलत प्रयोगबाट हुने नोक्सानी, खानेकुरा सुरक्षाका जोखिम, प्रदूषणको रोकथाम, स्वच्छता र सरसफाइमा तोकिएका मापदण्ड पूरा गर्न प्रोत्साहित गर्ने गरिएको छ ।
यस्तै खाद्यान्न (दाल, चामल, तरकारी, फलफुल, विस्कुट, चाउचाउ, भुजिया) जस्ता खाद्यान्नको उत्पादन मिति, उपभोग्य मिति, म्याद सकिएको सामग्री राख्ने छुट्टै कक्षको व्यवस्थालगायत स्वच्छ बजारका लागि सिप सिकाउने गरिएको छ ।
यसप्रकारको सिप बारम्बार सिकाउँदा, प्रचलित कानुनी व्यवस्थाका विषयमा जानकारी गराउँदा समेत व्यवसायमा सुधार नगर्नेमाथि कानुनी कारवाहीको विकल्प नभएको बैठकले निष्कर्ष निकालेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij