
May 16 2025 | २०८२, जेठ २ गते
काठमाडौं । रुपन्देहीमा गाडीका पार्ट्सको कारोबार गर्दै आएका दुई व्यवसायीविरुद्ध राजस्व चुहावट गरेको अभियोगमा मुद्दा दायर भएको छ ।
राजस्व अनुसन्धान कार्यालय, बुटवलले रुपन्देहीको तिलोत्तमा नगरपालिका–४, शुभलक्ष्मी पथका जगनन्नाथ खनाल र तिलोत्तमा नगरपालिका–४, नयाँमिलका दधिराम खरेलविरुद्ध बिहीबार राजस्व चुहावट गरेको अभियोगमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरेको हो ।
प्रमुख राजस्व अधिकृत विवेक घिमिरेले दिएको जानकारी अनुसार राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय, बुटवल मार्फत अनुसन्धान गर्दा विपक्षी खरेल र उनका साझेदारले राजस्व चुहावट गरेको पाएको हो । शुभलक्ष्मी अटो लिङ्क प्रालिका सञ्चालक खनाल र खरेलविरुद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधनसहित) को दफा २० ९६० बमोजिम मुद्दा दायर गरेको विभागका प्रवक्ता कृष्णकुमारी श्रेष्ठले जानकारी दिइन् ।
खरेल पश्चिम नेपाल बस व्यवसायी प्रालीका अध्यक्षसमेत हुन् । उनले आफूहरू सञ्चालक रहेको फर्मबाट गाडीका महँगा पार्ट्सहरू राजस्व छली गरेर ल्याउने र बिक्री वितरण गर्ने गरेको पाइएको छ ।
शुभलक्ष्मी अटो लिङ्क प्रालिको आफ्नै वर्कशप र गोदामको खानतलासी तथा मालवस्तुको भौतिक निरीक्षण गरी बीलबिजक, खरिद खाता, बिक्री खातालगायत अन्य आवश्यक कागजात तथा मालवस्तुको अनुसन्धान गर्दा राजस्व छली गरेको पाइएको विभागले जनाएको छ ।
उनीहरूलाई चुहावट भएको भन्सार महसुल, मूल्य अभिवृद्धि कर र आयकरसहित ७२ लाख ११ हजार ३०० रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।
अदालतमा बिहीबारै थुनछेक बहसपछि प्रतिव्यक्ति २० लाख धरौटीमा छाड्ने आदेश भएको राजस्व अधिकृत घिमिरेले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij