
May 30 2025 | २०८२, जेठ १६ गते
काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट ८० अर्ब खिच्ने भएको छ । बजारमा स्थायी निक्षेप सुविधामार्फत निक्षेप संकलन दरमा नियमित रूपमा तरलता खिचिरहेको राष्ट्र बैंकले बिहीबार निक्षेप संकलन उपकरण बोलकबोल गरेको हो ।
आज २१ दिन अवधिका लागि बोलपत्र गरिएको छ । वित्तीय बजारमा अधिक तरलताको स्थितिमा सोको व्यवस्थापन गरी बजार ब्याजदरलाई व्यवस्थित गर्न आवश्यकताअनुसार राष्ट्र बैंकले आफ्ना काउन्टरपार्टीहरूबाट संकलन गरिने निक्षेप उपकरण नै निक्षेप संकलन उपकरण हो ।
४ असारमा नै सावाँ र ब्याज भुक्तानी हुनेछ । ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ । बैंकहरूले घटीमा १० करोड र बढीमा ५ करोडले भाग जाने गरी बोलकबोल हुने रकमसम्मको आवेदन दिन सक्नेछन् । उक्त उपकरण राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थासँग धितो राख्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ को चैतसम्ममा बोलकबोलमार्फत २२ खर्ब १२ अर्ब ५ करोड र स्थायी निक्षेप सुविधामार्फत १४९ खर्ब ७४ अर्ब १० करोड गरी कुल १७१ खर्ब ८६ अर्ब १५ करोड (कारोबारमा आधारित) तरलता प्रशोधन गरिएको छ ।
त्यसैगरी, ओभरनाइट तरलता सुविधावापत २ अर्ब ७० करोड उपभोग भएको छ । अघिल्लो वर्षको सोही अवधिमा मौद्रिक नीतिका विभिन्न उपकरणमार्फत खुद ७६६ अर्ब १९ करोड तरलता प्रशोधन भएको थियो ।
बैंक तथा वित्तीय संस्थाहरू बिचको भारित औसत अन्तर बैंक दर २०८१ चैतमा ३.०० प्रतिशत रहेको छ । २०८० चैतमा भारित औसत अन्तर बैंक दर ३.१० प्रतिशत रहेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij