
Jul 12 2025 | २०८२, असार २८ गते
काठमाडौं । काठमाडौं कोटेश्वरस्थित पाल्पाकोटबाट ४० किलो गाँजासहित पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले बिहीबार एक डेराबाट गाँजा बरामद गर्दै उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धादिङका सुमन चेपाङ, प्रकाश चेपाङ (१९), शंकर चेपाङ (२०), जीवन प्रजा (३६) र एक अन्य रहेका छन् । उनीहरू सबै धादिङकै बासिन्दा हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसपी अपिलराज बोहराका अनुसार सुमन चेपाङले धादिङबाट सार्वजनिक सवारीसाधन प्रयोग गरी गाँजा ल्याएका थिए । प्रहरीका अनुसार उनीहरूले कोटेश्वरमा गाँजाको किनबेच गरिरहेका बेला पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरूको साथबाट प्रहरीले ४० किलो गाँजासँगै १ लाख २५ हजार रुपैयाँ नगद, तीनवटा मोबाइल फोन र दुईवटा मोटरसाइकल पनि बरामद गरेको छ ।
प्रहरीले कोटेश्वर क्षेत्रमा लागुऔषध कारोबार भइरहेको सूचना पाएपछि उक्त क्षेत्रमा निगरानी बढाएको थियो । सोही आधारमा खटिएको प्रहरी टोलीले पाल्पाकोटस्थित डेराबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकाहरूविरुद्ध थप अनुसन्धान गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद लिएको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij