
Aug 09 2025 | २०८२, साउन २४ गते
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गरेका छन् ।
अमेरिकासँगको कर विवादको बीचमा, मोदी र पुटिनको कुराकानीलाई अर्थपूर्ण रुपमा लिइएको छ । दुवैले कुराकानीमा भारत-रूस सम्बन्धलाई सुदृढ पार्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको बताएका छन् ।
मोदीले यस बारेमा जानकारी दिदै भनेका छन्- 'राष्ट्रपति पुटिनसँग मेरो धेरै राम्रो र विस्तृत कुराकानी भयो । मैले युक्रेनको अवस्थाको बारेमा जानकारी साझा गरेकोमा उहाँलाई धन्यवाद दिएँ ।
हामीले हाम्रो पारस्परिक सहयोग बढाउने र भारत-रूस रणनीतिक साझेदारीलाई अझ गहिरो बनाउने हाम्रो प्रतिबद्धता दोहोर्यायौं । म यस वर्षको अन्त्यमा राष्ट्रपति पुटिनको भारत भ्रमणको लागि स्वागत तत्पर छु ।'एक दिन अघि, भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले बिहीबार आफ्नो मस्को भ्रमणको क्रममा क्रेमलिनमा पुटिनलाई भेटेका थिए ।
राष्ट्रपति पुटिन यस वर्षको अन्तिम हप्तामा भारत भ्रमणमा आउने रुसी समाचार एजेन्सी तासले जानकारी दिएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँगको भारतको सम्बन्धमा गरेको टिप्पणीका कारण यो भ्रमणलाई धेरै महत्त्वपूर्ण मानिएको छ ।
ट्रम्पले रुसबाट तेल किनेको कारण उल्लेख गर्दै भारतमा पहिले २५ प्रतिशत र त्यसपछि अर्को २५ प्रतिशत गरि कुल ५० प्रतिशत कर लगाए पछि भारत र अमेरिकाको सम्बन्धमा दरार आएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij