Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौँ– मोरङको उर्लावारी–५ का ३१ वर्षीय प्रविण बास्तोलाको शंकास्पद मृत्यु प्रकरणमा जोडिएका घरधनी ६० वर्षीय रमेश गिरीलाई जिल्ला अदालत मोरङले धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीश सुदर्शन लामिछानेको इजलासले उर्लाबारी नगरपालिका–६ का गिरीलाई १ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो।
इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेल नेतृत्वको टोलीले फरार रहेका गिरीलाई हिजो साँझ पक्राउ गरेको थियो।उर्लाबारी–६ स्थित गिरीको घरमा डेरा गरी बस्ने साथीहरुको कोठामा अघिल्लो रात सुत्न गएका प्रविणको गत पुस ५ गते शंकास्पद मृत्यु भएको थियो। परिवारका सदस्यले उनको शव उर्लाबारीस्थित गोदावरी अस्पतालमा पाएका थिए। सुतेकै ठाउँमा बेहोस अवस्थामा भेटिएकाले उपचारका लागि पुर्याएपछि प्रविणको मृत्यु भएको दाबी गरिएको थियो।
घटनाका आरोपीमध्ये पक्राउ परेका मोरङको रतुवामाई नगरपालिका–१० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जी र उर्लाबारी–९ का ३४ वर्षीय कुमार राईको हकमा अदालतले गत बिहीबार आदेश दिइसकेको थियो। आदेशअनुसार दर्जी पूर्पक्षका लागि थुनामा छन् भने राई ३ लाख रुपैयाँ धरौटी बुझाएर छुटिसके।
मुद्दामा प्रतिवादी बनाइएका झापाको दमक नगरपालिका–१० का ३३ वर्षीय राजेश रणपहेली, मोरङ कानेपोखरीका २१ वर्षीय सुदीप परियार र झापा बैगुनधुराका ३१ वर्षीय दिपेश पौडेल फरार छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij