Jun 20 2026 | २०८३, असार ६ गते
कञ्चनपुर । बेलौरी नगरपालिका-८ खप्टीनाला कालोपुलस्थित गहुँबारी नजिकै भारतबाट आउँदै गरेका ४ जना तस्करहरुले गस्तीमा खटिएको प्रहरी टोलीमाथि एक्कासि गोली प्रहार गरेपछि प्रहरीले समेत जवाफी फायर गर्दा भारत जिल्ला पिलिभित ग्राम भूमिदान राघवपुरी थाना हजारा बस्ने अन्दाजी २० वर्षीय गोविन्दा सिंहको बिहीबार साँझ मृत्यु भएको छ । तत्काल गम्भीर घाइते भएका उनको ईशान मेमोरियल अस्पताल बेलौरीमा उपचारको क्रममा मृत्यु भएको हो ।
तस्करहरुको समूह नेपालतर्फ भित्रिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलौरी तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले नेपालतर्फ झोला बोकी आईरहेका उनीहरुलाई शंका लागि जाँच गर्न खोज्दा प्रहरीमाथि एक्कासी गोली प्रहार गरेका थिए । सो क्रममा सामान्य घाइते भएका १ जना प्रहरी जवानको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
घटनास्थलबाट २ थान नक्कली नोट छाप्ने भनिएको मेसिन, करिब २४।८६ ग्राम अवैध लागूऔषध ह्वाइट सुगर जस्तो देखिने पदार्थ, करिब ६५।८१ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, ५ सय भारतीय रुपैयाँ नोटको साईजमा काटेको सेतो कागज ३ थान, कागज काट्ने १ थान धारिलो चक्कु, २ थान रुलर, १ थान मोबाइल, १ थान सलाई, २ थान सेतो टेप, १ थान झोला, ३।४५ ग्राम कालो पाउडर जस्तो देखिने पदार्थ र एफोर साइजको पेपर १ जिस्था प्रहरीले बरामद गरेको छ ।
घटनामा संलग्न नाम, थर नखुलेका ३ जना भारतीय नागरिकहरु हाल फरार रहेकोले खोजी जारी रहेको तथा निजहरुको समूह लामो समयदेखि लागूऔषध तथा नक्कली नोट छाप्ने कारोवारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij