Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौं । उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको हत्या आरोप लागेका ६ जना मध्ये २ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्। दुई जना धरौटीमा रिहा भएका छन् भने २ जनालाई अदालत पेश गर्न बाँकी नै छ। बास्तोलाको हत्या आरोपमा प्रहरीले उर्लाबारी नगरपालिका–६ प्रगतिटोलका सुदीप परियार र राजेश रणपहेली, झापाको गौरादह नगरपालिका–९ का दीपेश पौडेल र प्रवीणको शव भेटिएको घरका घरधनी उर्लाबारी–६ का ६० वर्षीय रमेश गिरी, मोरङ रतुवामाई नगरपालिका–१० पवित्रा चोकका रिकेश सिवा भन्ने मेहरमान दर्जी र होटल सञ्चालक उर्लाबारी नगरपालिका–९ का कुमार राईलाई विभिन्न मितिमा पक्राउ गरेको थियो।
सुरुमा मेहरमान दर्जी र कुमार राईलाई प्रहरीले पक्राउ गरेको थियो। दर्जीलाई पुर्पक्षका लागि कारागार चलाउने आदेश अदालतले दिएको थियो भने राई ३ लाख धरौटीमा रिहा भएका थिए। त्यसपछि घरधनी रमेश गिरी पक्राउ परेका थिए। उनी १ लाख धरौटीमा रिहा भएका थिए। शुक्रबार बुटवलबाट पक्राउ परेका रणपहेलीलाई आइतबार सरकारी वकिलमार्फत अदालत पेश गरिने मोरङका एसपी सन्तोष खड्काले जानकारी दिए। त्यसैगरी हत्या आरोपमा फरार रहेका दीपेश पौडेल भन्नेलाई दमक प्रहरीले एक हप्ताअघि पक्राउ गरेको छ। उनी मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेको पाइएको छ। चोरी मुद्दाको अनुसन्धान सकिएपछि उनलाई अदालत पेश गर्ने तयारी प्रहरीले गरेको छ।
गत पुस ५ गते बास्तोला मृत भए पनि दुई महिनापछि यो घटना चर्चामा आएको थियो। यसको मुख्य कारण प्रहरी मिसिलमा मृतक भनेर अर्कै व्यक्तिको फोटो राखिएको आरोप थियो। मृतक प्रवीणकी बहिनी सदीक्षा बास्तोलाले इलाका प्रहरी कार्यालयभित्रैबाट प्रहरीले हत्यारा लुकाउन चलखेल गरेको आरोप लगाउँदै फेसबुक लाइभ गरेपछि यो घटना चर्चामा आएको थियो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij