Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौं । सर्लाहीका एक युवकले च्याउको बीउ बेचेर मनग्य आम्दानी गरेका छन् । वाग्मती नगरपालिका– १० का ध्रुवप्रसाद चौलागाईं वैदेशिक रोजगारबाट फर्केपछि च्याउको बीउ बेचेर मनग्य आम्दानी गरेका हुन्। पाँचपटक वैदेशिक रोजगारीमा गएर फर्किएका वाग्मती नगरपालिका–१० शङ्करपुरका उहाँले कन्ने च्याउको बीउ बिक्रीबाट सम्पूर्ण खर्च कटाएर मासिक रु एक लाख आम्दानी गर्दै आएको जानकारी दिए ।
तीन वर्षदेखि व्यावसायिक च्याउखेती गर्दै आएका उनले गत वर्षदेखि बीउ उत्पादन गर्न शुरु गर्नुभएको हो । दुई सय ५० ग्रामको दैनिक एक हजार प्याकेट बीउ उत्पादन गरिरहेको उनले बताए । उनका अनुसार यसअघि बीउ लिन हेटौँडा, काठमाडौँ जस्ता ठूला शहरमा धाउनुपर्ने गरेको भए पनि अहिले त्यो समस्या समाधान भएको उनको भनाइ छ । अहिले वाग्मतीको शङ्करपुरमै बीउ उत्पादन भएपछि यस क्षेत्रका व्यावसायिक च्याउखेती गर्ने किसानलाई सजिलो भएको छ । उनले करीब रु ५० लाखमा बीउ उत्पादन गर्ने उपकरण खरीद गरेका थिए । स्थानीय बजारमा च्याउको माग अत्यधिक रहेकाले च्याउ र बीउ बिक्री गर्न बजारको समस्या नभएको उनले बताए ।
उनले प्रतिप्याकेट रु ४० मा स्थानीय किसान, सिन्धुली, रौतहट, महोत्तरीका किसान र कृषि ज्ञान केन्द्र सर्लाहीलगायत देशका विभिन्न ठाउँमा बीउ बिक्री गरिरहेको च्याउखेती र बीउ उत्पादन गर्न उहाँलाई पारिवारिक राम्रो सहयोग रहेको छ । उनले च्याउको बीउ उत्पादन गर्ने काममा तीन जनालाई रोजगारी दिएका छन् । यही व्यवसायको कमाइबाट चार कट्ठा जग्गा खरीद गरेको बताए।
उनले ध्रुव कृषि फार्म दर्ता गरेर व्यावसायिकरुपमा च्याउको बीउ तथा च्याउ नै उत्पादन गरी बिक्रीवितरण शुरु गरेका हुन् । स्वदेशमै केही गरौँ भनेर २०७४ सालदेखि व्यावसायिक च्याउखेती शुरु गरेका उनले अहिले एक हजार ५०० पोका राख्नसक्ने क्षमताको टनेल र घरको तल्लो तलामा एक हजार पोका च्याउखेती गरिरहेका छन् । च्याउखेती विशेषतः जाडो मौसममा हुने गर्छ । बेमौसमी च्याउखेतीका लागि घरको दुई वटा कोठालाई चिसो बनाइराख्न वातानुकूलन उपकरण समेत जडान गरेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij