Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौं । नेपाली सेनाले आज(बिहीवार) स्थानीय सैनिकमञ्च टुँडिखेलमा आकर्षक सैनिक कौशल प्रदर्शनसहित विविध कार्यक्रम गरी सेना दिवस मनाएको छ । सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले समारोहमा सहभागी भई सबै क्रियाकलापको रुचिपूर्वक अवलोकन गरिन् । महाशिवरात्रिका दिन आज आयोजित समारोहमा उनलाई सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । उनले सैनिक स्मारकमा पुष्पहारार्पण पनि गरेकी थिइन् ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटालगायत सरकारका मन्त्री, सचिव, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि एवं अन्य उच्चपदस्थ विशिष्ट व्यक्तिको सहभागिता थियो ।

समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रिय झण्डा र ब्यानर प्रदर्शन तथा पुष्टवृष्टि गरिएको थियो । सेनाले महाशिवरात्रि बढाइँ तथा कवाज एवं हातहतियार तथा यन्त्र उपकरण प्रदर्शन गर्दै सातै प्रदेशका संस्कृति झल्कने नृत्य एवं झाँकीसमेत देखाएको थियो । यस्तै आकर्षक सैनिक कला, खुकुरी ड्रिल र खोज उद्धार प्रदर्शनी पनि भएको थियो । सेनाले राष्ट्रिय गौरवका सडक निर्माण आयोजना, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण र विश्वशान्ति स्थापनामा सहभागितालगायत विविध गतिविधि झल्कने झाँकीसमेत प्रदर्शन गरेको थियो ।
समारोहमा राष्ट्रपति भण्डारीले ‘नेपाल एकीकरणको इतिहास (विसं १८०१–१८७२)’, नेपालको ऐतिहासिक गढी, किल्ला तथा युद्धस्थलहरुको परिचय’ र ‘सिपाही वार्षिक २०७७’, पुस्तकसमेत विमोचन गरिन् । राष्ट्रपति भण्डारीले फ्रिफल जम्पका विजेता खेलाडीलाई पुरस्कार प्रदान गरेकी थिइन् । सैनिक कलाकारले देशभक्तिपूर्ण गीतमा नृत्य, साङ्गीतिक धून तथा शिवताण्डव नृत्य प्रस्तुत गरेका थिए ।

नेपाली सेनाको वर्तमान साङ्गठनिकस्वरूप विसं १८१९ देखिको हो । संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा नेपाली सेनाको सहभागिता सन् १९५८(विसं २०१५ तिर) देखि आरम्भ भएको थियो । हालसम्म ४३ शान्ति स्थापना कार्यमा रही एक लाख ३५ हजारभन्दा बढी सैनिकले विश्वशान्तिमा योगदान पुर्याइसकेका छन् ।

विश्वका १२ शान्ति मिशनमा नेपालबाट ८७ महिला सैनिकसहित पाँच हजारभन्दा बढी शान्ति सैनिक सहभागी छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij