Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौं । सोमबार राष्ट्रिय मुस्लिम आयोगको वार्षिक प्रतिवेदन २०७६÷०७७ को विषयमा सञ्चारकर्मीसँग भेटघाट गर्दै अध्यक्ष समिम मियाँ अन्सारीले मुस्लिम समुदायको थर सूचीकृत गर्ने बताए । मुस्लिम समुदायभित्र विभिन्न थरहरु रहेका कारण समुदायलाई पहिचान गर्न समेत गाह्रो भएको भन्दै मुस्लिम आयोगले थर सूचीकृत गर्ने भएको हो । थर सूचीकृत गर्नका लागि आर्थिक वर्ष २०७६÷०७७ मा मोरङ, सुनसरी, सप्तरी, पर्सा, बाँके र पाल्पामा अध्ययनसमेत भएको उनले जानकारी दिए । हालसम्म ४५ वटा थर फेला पारेको र थप अध्ययन गरेर सार्वजनिक गर्ने अन्सारीले बताए ।
राष्ट्रिय मुस्लिम आयोगले २०७६र०७७ मा मुस्लिम समुदायको जनसंख्या बढी भएका ११ जिल्लाका ९१ जना महिला र ७५ जना पुरुष गरी १ सय ३१ जनालाई सिलाइकटाइ तालिम, ब्युटीपार्लर तालिम तथा सवारी साधन मर्मत तालिम प्रदान गरेको जनाएको छ । त्यसैगरी ५२ जनालाई लोकसेवा तयारी कक्षा सञ्चालन गरेको अध्यक्ष अन्सारीले बताए ।
मदरसाको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरको अध्ययन गरी मोरङ, सुनसरी, रौतहट, पर्सा, दाङ र स्याङ्जाका २३६ मदरसा सम्बन्धी तथ्यांक र सूचना संकलन गरिएको पनि उनले बताए । मदरसामा पढ्दै गरेका छात्राहरुलाई बाहिरको सरकारी तथा निजी विद्यालयमा पढ्दा पोशाकको असहजता भएको भन्ने गुनासो आएकाले उनीहरुलाई सहज हुने पोशाक लगाउन वातावरण बनाइदिन शिक्षा मन्त्रालयलाई अनुरोध गरेको पनि अन्सारीले जानकारी दिए ।
आर्थिक वर्ष २०७६÷०७७ मा आयोगलाई प्राप्त भएको ५ करोड ६ लाख ८३ हजार ६ सय २८ रुपैयाँमध्ये २ करोड ५१ लाख ६४ हजार ९ सय ९४ रुपैयाँ ९२ पैसा खर्च भएको आयोगले जानकारी दिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij