Jun 20 2026 | २०८३, असार ६ गते
दैलेख । पेट्रोलियम पदार्थ उत्खनन् अन्तर्गत तेस्रो चरणमा गरिने ड्रिलिङको अध्ययनका लागि चिनियाँ टोली यही महिना दैलेख आउने भएको छ । कोरोना महामारीका कारण केही समयपछि परेको पेट्रोलियम पदार्थ उत्खनन तथा अन्वेषणको कामले तीव्रता पाउने भएको छ । विसं २०७६ असोजदेखि शुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननअन्तर्गतको पहिलो चरणको काम सकिएको छ । तेस्रो चरणमा गरिने ड्रिलिङको पूर्वतयारीका लागि चिनियाँ टोली नेपाल आउन लागेको खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा. गणेशनाथ त्रिपाठीले जानकारी दिए । चीनको टोलीले चैत्र १९ सम्म आउने भनेको छ । केही समय ढिलो चाँडो भए पनि यही महिनाभित्र चीनको टोली आइपुग्ने त्रिपाठीले बताए । अध्ययनका लागि आउने चीनको टोलीले सम्बन्धित स्थलमा गएर ड्रिलिङका लागि भौगोलिक अवस्था, सडकको पहुँचलगायतका कुरामा अध्ययन गरेपछि विज्ञ टोली आएर चार किलोमिटर जमिन मुनी ड्रिलिङको काम गर्ने खानी तथा भूगर्भ विभागले जनाएको छ ।
टोलीले दुईदेखि तीन महिनासम्म ड्रिलिङको काम सकाएर दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण तथा उत्खननका विषयमा गरिएको सम्झौताअनुसार यहाँको अवस्थाका बारेमा नेपाल सरकारलाई प्रतिवेदन बुझाउने छ ।
सरकारसँग भएको सम्झौताअनुसार पहिलो चरणको काम दशैँ अगाडि सकिएको र पछि बाँकी काम शुरु गरिने तयारी रहेको भए पनि चीनबाट आएको प्राविधिक टोली फर्केपछि कोरोना महामारी शुरु भएकाले पेट्रोलियम पदार्थ उत्खननको काम रोकिएको थियो । नेपाल सरकारसँगको सम्झौताअनुसार चीन सरकारको प्राविधिक टोलीले पहिलो चरण अन्तर्गतको सेस्मिक, जियोलोजिकल, म्याग्नेटो टेल्युरिक, जिओ केमिकल स्याम्पलिङ गरी चार वटा सर्भेका काम तोकिएकै समयमा सकाएको डा. त्रिपाठीले बताए ।
प्रधानमन्त्री रहेका केपी शर्मा ओलीको चीन भ्रमणका बेला दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्ने चीन सरकारसँग सहमति भएको थियो । सहमतिअनुसार नेपाल सरकार खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटा र चीन सरकारको जिओलोजिकल सर्भे कम्पनीबीच दुई अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम खानी अन्वेषण उत्खनन गर्ने सम्झौता भएको थियो । दैलेखमा सदिऔँदेखि ज्वाला बल्दै आएका श्री स्थान, नाबिस्थान, पादुका, तल्लो डुङ्गेश्वरलगायतका क्षेत्रलाई आधार मानी चीनको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन टोलीले काम गर्दै आएको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij