Jun 15 2026 | २०८३, असार १ गते
काठमाडौँ । धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवालविरुद्ध जिल्ला प्रशासन कार्यालयले पक्राउ पूर्जी जारी गरेको छ । उखु किसानको वर्षौंदेखिको करोडौँ रकम भुक्तानी नदिएका कारण उद्योगपति अग्रवालविरुद्ध पक्राउ पूर्जी जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
उद्योगपति अग्रवालविरुद्ध पक्राउ पूर्जी जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनुभयो । उखु उत्पादक किसानले दिएको उजुरीका आधारमा उद्योगी अग्रवाललाई पक्राउ पूर्जी जारी गरिएको प्रजिअ पौडेलले जानकारी दिए । उद्योगले उखु उत्पादक किसानको रु १७ करोड भुक्तानी गर्न बाँकी रहेको देखिएको छ । स्थानीय प्रशासनले पक्राउ पूर्जी जारी गरेपछि सो पूर्जीका आधारमा मुलुकको जुनसकै ठाउँबाट पनि प्रहरीले अग्रवाललाई नियन्त्रणमा लिनसक्ने जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
जिल्लाकै हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योग र गोडैताको बगदहस्थित महालक्ष्मी सुगर मिलको भने किसानलाई दिनुपर्ने बक्यौता भुक्तानी गरिसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।अन्नपूर्णले बरहथवा, धनकौल, बलरा, रामनगर, बसबरिया, गोडैतालगायतका स्थानीय निकायका हजारौँ उखु उत्पादक किसानको झण्डै पाँच वर्षदेखिको उखुको भुक्तानी नदिएको किसानले गुनासो गर्दै आएका छन् । उखुको भुक्तानी नपाएर आजित बनेका किसानले केही दिनदेखि काठमाडौँको माइतीघर मण्डलामा निरन्तर धर्ना र विरोध प्रदर्शन गरिरहेका छन् ।
योपल्ट भुक्तानी नभएसम्म आन्दोलन जारी राख्ने किसानले चेतावनी दिएका छन् । सरकारले पटकपटक सहमति गर्ने तर भुक्तानी नगराउने गरेकाले यसपटक भुक्तानी नलिइ घर नफर्कने किसानको अडान रहेको उखु उत्पादक किसान महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताउनुभयो ।उद्योगले गत वर्ष नै किसानको भुक्तानी दिने सहमति जनाएको भए पनि अहिलेसम्म उखुको बाँकी भुक्तानी नदिएको उखु उत्पादक किसान मुकेश ठाकुरले बताए । उद्योगले किसानको बाँकी भुक्तानी नदिएसम्म सो उद्योगलाई उखु नदिने बताएपछि गत वर्ष उद्योग सञ्चालनमा नआएको ठाकुरको भनाइ छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij